
अहिलेको भयाक्रान्त अवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिम पूरै बेसरोकार देखिएको छ ।
देशका प्रधानमन्त्रीले जनतालाई आश्वस्त तुल्याउनुको साटो आधारहीन वक्तव्यमा समय बिताइरहेका छन् । यिनले नियुक्त गरेका मन्त्रीहरु भटाभट आफन्तलाई ठेक्का र पद सुम्पिइरहेका छन् ।
सिंगो मुलुकलाई महामारीले अत्याइरहेका बेला सरकारको ध्यान भने सत्ताको चाकडी गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्ति गाउने र आफ्नो क्षेत्रमा कुनै खास योगदान गर्न नसकेका नोकरशाहहरुलाई पद बाँड्नमा केन्द्रित देखिएको छ ।
सरकारले भर्खरै परराष्ट्र मन्त्रालयका तीन कर्मचारीलाई राजदूत नियुक्त गरेको छ । युरोपियन युनियन समेत हेर्ने गरी बेल्जियममा गेहेन्द्र राजभण्डारी, पाकिस्तानमा तापस अधिकारी र जर्मनीमा रामकाजी खड्कालाई राजदूत नियुक्त गरेको हो ।
यतिले नपुगेर आइतबार हङका लागि उदयबहादुर रानामगर र ल्हासामा नवराज ढकाललाई महावाणिज्यदूत नियुक्त गरेको छ । यी दुवैजना सरकारी कर्मचारी हुन् ।
यही मौकामा पूर्वसचिव दीपक सुवेदी, दाहाल, पूर्वसहसचिव निर्मलहरि अधिकारी लगायतलाई अवकाशलगत्तै सरकारी तलबभत्ता खाने गरी पुनः सिंहदरबारमै नियुक्ति दिइएको छ ।
प्रधानमन्त्रीले नै नियुक्त गरेका र आफ्नो नजिकमा भेला पारेकाहरुमध्ये को विशेषज्ञ हुन् र को स्वार्थ समूहका प्रतिनिधि हुन् भनेर छुट्याउन नसकिने भएको छ ।
जनता महाभारी र भोकको भुंग्रोमा रहेका बेला राज्यका अभिभावकहरुले एकएक पैसा जोगाउने र जुटाउनेमा ध्यान केन्द्रित गर्नुपर्ने बेला मामाको धन फुपूको श्राद्ध शैलीमा उडाउन खोज्नु गैरजिम्मेवारीको पराकाष्ठा हो ।
यो संकटले जनता मात्र होइन, पदमा रहेकारुलाई पनि बिस्तारै घेर्दै लगेको छ ।







