• नेपालमा क्रान्तिलाई पटकपटक धोका दिएका धेरै उदाहरण छन् । तपाईंहरूले पनि धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?

यो प्रश्न अहिले राष्ट्रिय स्तरमा र मुख्य विषयका रूपमा छैन । २०६२–६३ पछि माओवादी पार्टी र आन्दोलनमा विचलन र पलायन आएपछि हामीले त्यसका विरुद्ध विद्रोह गर्दा यो प्रश्नले राष्ट्रिय राजनीतिमा स्थान पाएको थियो । आजसम्म आउँदा हाम्रो पार्टी र नेतृत्वले यस प्रश्नको जबाफ विचार, राजनीतिमा मात्र होइन, वर्गसङ्घर्षको कठिन मोर्चाबाट पनि व्यावहारिक उत्तर दिँदै गइरहेकाले अहिले मुख्य प्रश्न छैन । छ भने सानो दायरामा मात्र छ ।
नेपालको राजनीतिक आन्दोलनमा राणा शासनका विरुद्धको आन्दोलनदेखि अहिलेसम्म भएका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धमा पटकपटक नेपाली काङ्ग्रेस, माले, वाम मोर्चा र माओवादीका नाममा देश र नेपाली जनतालाई दिएको धोकाले जनता आजित नै भएको छ । अबको क्रान्ति र क्रान्तिकारी पार्टीका बारेमा राष्ट्रिय राजनीतिमा उठ्ने प्रश्नको वस्तुगत आधार विगतको धोकाधडीसँग सम्बन्धित रहेको छ ।
जहाँसम्म हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिमा नेपाली जनतालाई फेरि धोका हुन्छ कि भन्ने प्रश्न हो सचेतताका निम्ति गरिने प्रश्नबाहेक त्योसँग व्यावहारिक आधार छैन । हाम्रो पार्टी राष्ट्रिय मुक्ति, उत्पीडित नेपाली जनता र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध पार्टी हो । अहिलेको दुनियाँको सामाजिक क्रान्तिको वैज्ञानिक विचार माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली क्रान्तिको प्रक्रिया धेरै अगाडि बढिसकेको छ जसको परिणाम नेपाली जनताको आशा, विश्वास र भरोसा पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिप्रति धेरै बढ्दै गएको छ । नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको छ । नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा हो ।
राष्ट्र र जनताको आवरणमा आफ्नो सङ्कीर्ण एवम् छुद्र राजनीतिक स्वार्थ सिद्धिका निम्ति कहिले आन्दोलन त कहिले युद्धको फन्डा गर्ने अवसरवादी र गद्दार नेता र पार्टीहरूले नेपाली जनतालाई धोका दिएका छन् । क्रान्तिले आफ्नैविरुद्ध खडा गर्ने जीवनमरणको खतराको सामना गर्न नसकेर भागेका भगौडा र बलिदानबाट डराएर आत्मसमर्पण गरेका जिउँदा लासहरूले नेपाली क्रान्ति र राजनीतिक आन्दोलनमा अक्षम्य अपराध गरेका छन् । हाम्रो पार्टी भगौडा र जिउँदा लासहरूको खरानीबाट जन्मेको पार्टी हो । यसका अगाडि कि त राष्ट्र र जनताको मुक्ति छ, कि त अनवरत सङ्घर्ष र बलिदान छ । तसर्थ हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिलाई बिनाकुनै सङ्कोच विश्वास गर्न र साथ दिन म आमनेपाली जनतामा विनम्रतापूर्वक अनुरोध गर्दछु । नेपाली जनताले पार्टीलाई साथ दिनुहोस्, पार्टीले तपाईंहरूलाई क्रान्ति र मुक्ति दिनेछ ।

  • सरकारले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ तर तपाईंहरूले सरकारमाथि दबाब दिने कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लाग्न थालेको छ नि ?

यो कुरा सत्य होइन । अहिलेको राज्य र सरकारले नेपाली जनता र राष्ट्रका विरुद्ध गरेका गल्तीलाई लिएर सङ्घर्ष गरेका कारण नै राज्य दमनमा उत्रिएको हो । दमनको परिणाम तपाईंले भनेको गिरफ्तारी गरेको छ । क्रान्ति भनेको दमनका विरुद्ध प्रतिवादको मोर्चा पनि हो ।
राज्य र सरकारले हाम्रो पार्टी र यसका कार्यक्रममाथि प्रतिबन्ध लगाएर दमन अभियान चलायो । नेपाली राजनीतिक आन्दोलनको इतिहासमा सजिलै सच्याउन नसकिने गल्ती सरकार र सरकारी पार्टीले गरेको छ । सरकारी पार्टीका नेता र सरकारले हाम्रो पार्टीलाई जुन आरोप लगाएर प्रतिबन्धित ग¥यो र दमन ग¥यो, त्यसको औचित्य पुष्टि गर्न सकेन । हाम्रो पार्टीलाई आतङ्ककारी, विध्वंशात्मक, लुटेरा, हत्यारा, पैसाका निम्ति गरिएका हर्कतलगायत नानाथरी अभियोग लगाइयो । तर त्यसको राष्ट्रिय राजनीतिमा पुष्टि भएन, बरु पुष्टि त ठीक उल्टो भयो । सरकारी पार्टी र सरकारलाई आत्मसमीक्षक बन्न र वास्तविकतालाई आत्मसात गर्न जबर्जस्ती धक्का निश्चितै दिइरहेको छ । हाम्रो पार्टी र जनक्रान्तिका विरुद्ध साम्राज्यवादी र दलाल तत्वहरूको दमन र षड्यन्त्रको प्रतिवादमा पार्टीले लिने आगामी मोर्चाबाट खरानी हुनेछन् ।

रातोखबर अनलाइनसँग कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार