
पूर्वप्रधानमन्त्रधी डा. बाबुराम भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमै भनाभन भएको छ।
भट्टराईले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशको प्रधानमन्त्री भैसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर प्रश्न गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि?भन्ने प्रश्न गरेका छन् ।
‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’, थापाले भट्टराईप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महासयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै भट्टराईलाई जवाफ फर्काएका छन् ।
त्यस्तै उनले अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ? कसरी त्यसको अपेक्षा गर्नु? भन्दै भट्टराईलाई अरुको सम्मान गर्न चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर र सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ? भन्दै भट्टराईले प्रयोग गरेका शव्दहरुको अंश राखेका छन् । ‘ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व..!’
थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ भने जवाफ माग गरेका छन् ।
विप्पा सम्झौता गरेर जुवा खेलें भन्ने आफ्नै कार्यशैली सम्झिन, न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो? भन्दै उहाँसँग तपाईंको के सम्बन्ध? भनेर थापाले सोधेका छन् ।
‘जबकी तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’ लाई पनि धरधरी रूवाएको होइन र ?’, थापाले अर्को प्रश्नका वर्षा गर्दै ‘तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन,
तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि ? यस्तो बेचैन र असन्तुलित चाहिँ किन बनिरहनुभएको हो ?’ भनेर सोधेका छन् ।
‘तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगा चाहिँ लगाउनै बिर्सेर सामाजिक सञ्जालमा निर्वस्त्र हुन सुहाउँछ त ? तपाईंका आफ्नै निम्न केही शब्द फेरि एकपटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट सञ्चालन र सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ? थापाले उछितो काढेका छन् ।







