‘एक व्यक्ति एक पद’ को कुरा गरिरहँदा आफैंले अध्यक्ष चलाउने  तपाईको चाहना थियो भन्ने पनि चर्चा पनि सुनिन्छ नि ? तपाई अहिले दुई अध्यक्षवीचको कार्यविभाजनमा सन्तुष्ट हुनुहुन्छ त ?

मलाई अध्यक्षको त प्रस्ताव नआएको होइन । औपचारिकरुपमै मलाई अध्यक्ष बनाउने प्रस्ताव आएको थियो । तर, म आफू त्यो पदमा जान्न भन्ने मान्छे अरु कोही नभएर मै हुँ ।

मलाई ‘प्राइभेट कन्भर्सेसन’मा एकल अध्यक्षको प्रस्ताव आएको हो । एकल अध्यक्षको प्रस्ताव स्वयं अध्यक्ष कमरेड केपी शर्मा ओलीबाटै आएको हो । प्रधानमन्त्रीको प्रस्ताव पनि मलाई आएको हो । मैले के भनें भन्दाखेरि प्रचण्डजीलाई माइनस गरेर जान मिल्दैन ।

बरियताको कुरा आउँदाखेरि त्यसको पनि समाधान निकाल्न सकिन्छ भनें मैले । विधि अपनाएर यसलाई सम्वोधन गर्न सकिन्छ । त्यसैले मलाई पदको अफर आउनु ठूलो कुरा होइन । म पदका निम्ति टाँसिइरहनेखालको मान्छे होइन । त्यसको निम्ति लडाइँ, झगडा गर्ने, सारा तमासा गर्नेखालको मान्छे होइन ।

०६५ सालको बैशाखमा मैले महासचिवबाट राजीनामा दिएँ । कसैले राजीनामा मागेको थिएन, मैले चुनावको परिणाम आइसकेपछि आफैंले आफ्नो जिम्मेवारी ठानेर राजीनामा दिएँ । जबकि चुनाव त अरुले पनि हारेका थिए ।

प्रधानमन्त्रीबाट पनि राजीनामा माग्ने माओवादी चुप लागिसकेको थियो, २२ दलले मलाई समर्थन गरिरहेका थिए, तर मैले हाम्रो पार्टीभित्रकै आन्तरिक कारणले गर्दाखेरि मैले राजीनामा दिएँ । भनेपछि, पदमा टाँसिइरहन चाहेको भए मैले पनि तमासा देखाइदिन्थें । तर, २२ पार्टीको साथ र सबैको दबाव हुँदाहुँदै पनि मैले प्रधानमन्त्रीमा टाँसिइरहन चाहिनँ । पार्टीका नेताहरु नै आफ्नो पक्षमा छैनन् भने केका निम्ति टाँसिइरहनु ?

अहिले मलाई प्रधानमन्त्रीको पनि अफर आएको थियो । मैले प्रचण्डजीलाई सोध्नू, आलोपालो इत्यादिको पनि कुरा आएको छ, उहाँ नै तयार हुनुभएन भने बेग्लै कुरा हो, होइन भने म त्यत्तिकै मान्नेवाला छैन भनेर जवाफ दिएँ ।

यहाँले प्रचण्डप्रति यतिधेरै सदाशयता देखाउनुभयो, तर पार्टी एकतापछिको लामो समयसम्म त दुई अध्यक्ष मिलेर माधव नेपाल नजिकका नेताहरुलाई कर्नरमा पार्ने प्रयास त भयो नि हैन ?

यसमा म प्रचण्डजीलाई दोष दिन्नँ । किनभने, उहाँलाई पूर्वएमालेभित्रको थाहा हुन्न । उहाँले आफ्ना मान्छेहरुलाई बढीभन्दा बढी ठाउँ दिन खोज्नु स्वाभाविकै पनि हो, यसलाई म अस्वाभाविक ठान्दिनँ । पछि उहाँले रियलाइज गर्दै जानुभयो र रियलाइज गरिसकेपछि उहाँले आफूलाई सुधार गर्नुभयो र हामी सिस्सटममा चल्नुपर्छ भन्ने आवश्यकता महसुस गर्नुभयो । पार्टीमा मैले जुन इस्युहरु उठाएँ, त्यो ठीक हो भन्ने धेरैलाई लाग्न थाल्यो । र, अहिले पार्टीले त्यही दिशा समातेको छ जस्तो लाग्छ ।

यहाँले प्रयोग गर्नुभएको एउटा शब्द विशेष चर्चामा आएको थियो, दुईअध्यक्षको ‘चोचोमोचो’ बाट पार्टी चल्दैन, विधि र पद्दतिअनुसार चल्नुपर्छ । अहिले फेरि दुई अध्यक्षवीच ‘चोचोमोचो’ बढेको हो ?

अनुचित सम्बन्ध र अनुचित निर्णयहरु गर्नु चोचोमोचो हो ।

अब फेरि पार्टीमा त्यस्तो चोचोमोचोको सम्भावना छ कि छैन ? के अब पार्टी विधि र पद्दतिबाट चल्छ भनेर विश्वास गर्न सकिन्छ ?

सम्भावनाका पछाडि लाग्ने र सम्भावनाको विश्लेषण गर्ने मेरो बानी छैन । मनमा गर्छु, प्रचार गर्दै हिँड्दिनँ । आकाश खस्यो भने के गर्ने ? बस्दाबस्दै भूइँचालो आयो भने के गर्ने ? त्यस्तो भयो भने के हुन्छ भनेर सोध्नुहुन्छ, मैले के जवाफ दिने ?

अब के सम्भावना होला भन्ने त विश्लेषकहरुले विश्लेषण गरुन् न, हामी त काम गर्नेहरु हौं । हामीले सम्भावनाको खेती गर्ने होइन । हो, हामी काम गर्दाखेरि जम्मै पक्षहरुलाई दिमागमा राख्छौं, तर अरुलाई भनेर हिँड्दैनौं । त्यसकारण म भन्दै हिँड्दिनँ । पहिले नै यस्तो-उस्तो भनेर हिँड्ने मेरो बानी छैन । धेरै प्रचारात्मक हुने मेरो बानी छैन । मेरो बानी के छ भने जे गर्ने हो, ठाउँबाट गर्नुपर्‍यो । पद्दतिमा चल्नुपर्‍यो । पार्टीको प्लेटर्फममा जानुपर्‍यो ।

मलाई गाह्रो कतिबेला हुन्छ भने जब अरुले पद्दति उल्लंघन गर्छन्, त्योबेलामा मलाई छटपटी हुन्छ । अनि म बेलाबखतमा झुक्किँदोरहेछु । तर, म चुनौतीसँग नडराउने मान्छे हुँ । चुनौतीहरुको सामना गर्दै आएको मान्छे हुँ । सुरुदेखिको मेरो जीवनका प्रत्येक पक्षलाई हेर्ने हो भने मैले चुनौतीहरुको सधैंभरि सामना गरेको छु ।

पार्टीभित्रको वादविवादबाट म कहिल्यै पनि डराउँदिनँ । पार्टी भनेको वादविवादको थलो नै हो । समाज वादविवादबाटै चल्छ । त्यसैले वादविवाद भन्ने वित्तिकै यसलाई नकारात्मकरुपमा लिनुहुँदैन । वादविवादबाटै सम्वादमा पुगिन्छ । वादविवादकै क्रममा सही निश्कर्षमा पुग्न सजिलो हुन्छ । त्यसैले तर्क-वितर्कबाट आत्तिनुहुँदैन । समाज वर्गसंघर्षबाट चलेको छ र समाजको परिवर्तन पनि यही वर्गसंघर्षकै क्रममा चलेको छ । हाम्रो चिन्तन, दृष्टिकोण र विचारमा पनि वैचारिक संघर्ष चलिरहेको हुन्छ । फरक-फरक विचार र फरक-फरक तर्कहरुको वीचबाट नै हामीले सबैभन्दा उपयुक्त कुन हो भन्ने कुराको छनोट गर्नुपर्छ र साझा निश्कर्षमा पुग्नुपर्छ ।

अनलाइनखबरले माधव कुमार नेपालसँग गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार