
सत्ताधारी नेकपाको शुक्रबारको बैठकमा केपी ओली र प्रचण्डको मिलोमतोबारे प्रचण्ड निकटका अधिकांश नेताहरु चाहिँ अलि बढी असन्तुष्ट भएको बुझिएको छ ।
बैठकमा पूर्वमाओवादी समूका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखे्रल र मात्रिका यादवले ओली-प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्दै आफ्ना गुनासाहरु आक्रोशित मुद्रामा व्यक्त गरे ।
स्थायी कमिटी सदस्य देव गुरुङले नेतृत्व भनेको पदको भागवण्डा मात्र होइन भन्दै समस्याहरुको समाधान खोज्नुपर्ने बताए । ‘पार्टी र समाजमा रहेका अन्तरविरोधहरु टालटुल गरेर मात्रै समाधान हुँदैन’ गुरुङले बैठकमा भने, ‘सरकार लोकतान्त्रिक तरिकाबाट चलिरहेको छैन । क्याबिनेट लोकतान्त्रिक ढंगले चलेको छैन । मन्त्रीहरु जागिरेजस्तै भएका छन् ।’
मुख्य नेतृत्वमा आलोचना नसुन्ने, बैठकमा नबस्ने, आत्मालोचना गर्न नचाहने, अन्तरविरोधलई फेस नगर्ने, त्यसको समाधान नखोज्ने प्रवृत्ति रहेको गुरुङले बताए । यस्तो थरिकाले पार्टी अगाडि जान सक्दैन भन्दै यसको समाधान खोज्नु उनके तर्क थियो । यद्यपि अहिलेको प्रस्तावले डेडलक खोल्ने प्रयत्न भने गरेको गुरुङको निश्कर्ष थियो ।
पूर्वमाओवादी खेमाका अर्का नेता मात्रिका यादवले अध्यक्षद्वयको प्रस्तावमा वर्ग छैन र वर्ग संघर्षको झलक पनि छैन भन्ने प्रतिक्रिया दिए ।
‘एकता-संघर्ष-एकता मात्रै भयो, एकता-संघर्ष-रुपान्तरण भएन । नेतृत्व रुपान्तरण भएन’ यादवले बैठकमा भने, ‘यो प्रस्ताव गरिएका गल्तीहरुको ढाकछोप मात्रै हो । प्रस्ताव सच्याएर ल्याए हेरौंला, नभए कतिपय कुरामा मेरो फरक मत हुन्छ ।’







