
लकडाउन र निषेधाज्ञाको विरोध गर्दै विभिन्न व्यवसायीहरु अब सडकमा उत्रन थालेका छन् ।
यसैक्रममा निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार विहान प्रदर्शन गरेको हो ।
अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए ।
सधैं घरभित्र थुने कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउने भन्दै अब सहज बनाउनु पर्ने अध्यक्ष थापाको माग छ ।
बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नु पर्ने घरभाडामा सहुलियत दिनु लगायतका मागहरु संघले अघि सारेको छ ।
यसैगरी लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो ।
उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।







