
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेसम्मको प्राप्त उपलव्धिलाई रक्षा गर्नु अबको चुनौती भएका बताएका छन् ।
विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुले मंगलबार गरेको औपचारिक विदाई कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । चार वर्षे कार्यकाल पूरा गरेका घिसिङ गत आइतबार नैं विदा भएका हुन् ।
उत्पादित विद्युतको वजार व्यवस्थापन, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु पनि चुनौतीका रुपमा रहेको उनले बताए । संघीय संरचना र नयाँ विद्युत ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनुपर्ने उनले बताए ।
‘यसबाहेक अन्य व्यवस्थापकीय चुनौतीहरु थपिंदै जानेछन्’ जाँदा जाँदै घिसिङले भनेका छन् ।
विद्युत प्राधिकरणको नेतृत्वमा अब को आउलान् भन्ने टुंगिएको छैन । घिसिङलाई दोहोर्याउन सडकदेखि सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) नेतृत्वसम्मबाट लबिङ पनि भइरहेको छ ।
घिसिङ आफैंले चाहिँ नेतृत्वमा दोहोरिन चाहन्छन् कि चाहँदैनन भन्ने मुख खोलेका छैनन् । मंगलबारको बिदाइ कार्यक्रममा यसबारे बीचबीचमा रहेर सम्बोधन गरेका उनले भने, ‘एक जना सँधैभरि नेतृत्वमा रहनुपर्छ भन्ने म मान्दिन । म नहुँदा पनि यहाँ नेतृत्व पाएको हकमा सबैले काम गर्न सक्नुहुन्छ ।’
तर आफ्नो विषयमा मन्त्रिपरिषदमा प्रस्ताव गएकोबारे आफलाई कौतुहलता रहेको घिसिङले बताए । ‘तपाईहरुलाई जस्तै मेरो पनि कौतुहलता छ, यो बिदाइ हो कि के हो !’ उनले भने, ‘मन्त्रिपरिषदमा पुनः नियुक्तिको विषयमा छलफल भएको सुनेको हुँ । तर त्यसलाई हेरेर पर्खिएर अपेक्षा गरेर पनि होइन ।’
नेतृत्वमा निरन्तरता पाउने वा परिवर्तन भन्ने विषय स्वाभाविक भएको र स्वाभाविक रुपमा नै लिनुपर्नेमा घिसिङले जोड दिए ।







