
उत्तेजक स्थिती सिर्जना गरे चीनसँग भिड्नका लागि तयार रहेको भारतीय सेनाले जनाएको छ।
भारतीय न्युज एजेन्सी पिटिआईका अनुसार भारतीय सेनाले भनेको छ, ‘यदि चीनले युद्धका लागि परिस्थिति सिर्जना गर्छ भने उसले राम्रो तालिम प्राप्त, पूर्ण तयार र मनोवैज्ञानिक रुपमा कठोर भारतीय सेनाको सामना गर्नुपर्नेछ।’
Indian Army says if China creates conditions for war, they will face a better trained, better prepared, fully rested and psychologically hardened Indian troops.
— Press Trust of India (@PTI_News) September 16, 2020
पूर्वी लद्दाख लगायतका सीमामा तनाव बढिरहँदा भारतीय सेनाको पछिल्लो धारणा सार्वजनिक भएको हो।
गत चार महिनादेखि सीमामा चीनसँग बढेको तनावका बीच भारतले लामो तैनाती र चीनको युद्ध भावनालाई हराउन पूर्ण व्यवस्था गरेको भारतीय मिडियाको दाबी छ।
भारतीय सैनिक स्रोतका अनुसार भारतले चीनको मनसाय बुझेर मे महिनादेखि नै आफ्नो तयारी र मोर्चालाई सुदृढ पार्न थालेको थियो।
यस कारण भारतीय सेना लद्दाखको पहाडमा लामो मोर्चाका लागि पनि तयार र आवश्यक परे पनि जाडोमा पनि युद्धको लागि तयार रहेको दाबी गरिएको छ।
पूर्वी लद्दाखमा स्थिती सिर्जना भए अब भारतीय सेना कठिन जाडोको समयमा पनि युद्ध लड्न सक्षम रहेको र यसका लागि आवश्यक प्रबन्धहरू गरिएको बताइएको छ।
लजिस्टिक क्षमता सँगै मोर्चाको फ्रन्टमा खटिने सिपाहीहरूको लागि स्वास्थ्य, विशेष राशन, मर्मत गर्ने, तताउने प्रणाली, उच्च गुणस्तरको हतियार, गोला बारुद, गुणस्तरीय कपडा इत्यादिसँग सम्बन्धित तयार गरिएको छ।
लद्दाखमा अक्टूबरदेखि मौसम एकदम चिसो हुन थाल्छ र नोभेम्बर महिनामा धेरै हिउँ पर्ने गर्छ। यस बाहेक चिसो हावाका कारण सैनिकहरुलाई त्यहाँ बस्न एकदम गाह्रो बनाउँछ। हिउँका कारण सडकहरू पनि बन्द हुने गर्छन्।
हालै चीनको सरकारी अखबार ग्लोबल टाइम्सले भारतीय सेनासँग जाडोमा लड्नको लागि दक्ष जनशक्ती नभएको तथा क्षमताको अभाव रहेको जनाएको थियो।
भारतीय सैन्य अधिकारीले यसलाई चीनको ‘अज्ञानता’ भनेका छन्।







