
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘गर्भमै यातना दिएर शिशु गणतन्त्रलाई सिध्याउन खोज्ने बयलगाडेहरूको हातबाट देशको रक्षा गर्नु पर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताएका हुन्।
संविधान दिवसको सेरोफेरोमा सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गरेका हुन्।
उनले संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै आफ्ना तीन बुँदे धारणा ट्विटरमा लेखेका छन्।
पहिलो बुँदामा उनी भन्छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन् । अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’
त्यस्तै दोस्रो बुँदामा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन।’
‘अपांग शिशुको उपचार र रक्षा गरौँ’, तेस्रो बुँदामा उनले भनेका छन्।








