संविधान जारी भएको यो ऐतिहासिक दिनमा तपाईले र तपाईको पार्टीले देशभरि खुशियाली मनाउपर्ने थियो नि ? किन त्यसो गर्न सक्नुभएन ? तपाई परिवर्तनको लागि लडेको नेता हो, तर यत्रो ठूलो बलिदानीबाट प्राप्त भएको यो संविधानको विरोध गर्नुको औचित्य हुन्छ त ?

ईतिहासको बिडम्बना यस्तै हुँदो रहेछ । जसले लड्यो, जसले संघर्ष गर्यो । त्याग र बलिदान गर्यो । ज्यान सुम्पियो, ती जनता आज कहाँ छन् ? भन्नुहोस त । म तपाईलाई उदाहरण दिन्छु, शासकीय स्वरुप हामीले नेपालको सन्दर्भमा यहाँका जुन जाति, विभिन्न क्षेत्र, लिंग, समूदाय छन्, तिनको समानुपातिक प्रतिनिधित्व हुनेगरि प्रत्यक्ष निर्वाचित तर समानूपातिक प्रणाली अपनाऔं, त्यसो हुन सक्यो भने सबैको स्वामित्व हुन्छ र त्यो संविधानले कानून बनाउँछ । कार्यकारी चाहीँ प्रत्यक्ष निर्वाचित गरौं भनेर हामीले त्यत्रो लड्यौं । नेपाली जनताले संविधान त्यो डाफ्ट बनाएर जुन छलफलको निम्ति तल पुर्याईयो, ८० प्रतिशत जनताले यो ठीक छ भने । तर, अहिले जुन निर्वाचन प्रणाली अपनाईयो, त्यसले के देखायो भने चुनाव हारेका मान्छेहरु चाहीँ फेरि चोर दुलोबाट गएर राष्टियसभामा जाने, अब त्यहाँबाट मन्त्री हुने कोशिस गरेका छन् ।

जबकी संविधानमा चुनाव हारेका मान्छेले त्यो कार्यकालमा मन्त्री हुन पाउँदै भनेर प्रष्ट ढंगले लेखिएको छ । भनेपछि यस्तो खालको विकृति, विसंगति भयो । यसको अर्थ के हो भने ? जनताले लडेर ल्याएको बलिदान त यो देशका चोर, ठगहरु (जो हिजोदेखि जनतालाई लुट्दै आएका थिए) तिनको हातमा पुग्यो । अनि यस्तो अवस्थामा नेपाली जनताले खुशी मनाएर नाच्दै हिँड्ने हो ? अपूर्णता पूरा गर्नको लागि जनदबाब सिर्जना गर्ने हो । म त जहिल्यैसुकै पनि न्याय र सत्यको लागि लडेको मान्छे हो । म अन्तिमसम्मपनि संविधानमा जुन अपूर्णता छन्, त्यसलाई पूरा गर्नको निम्ति र यो देशका सबै जनतालाई अधिकारसम्पन्न बनाउनको निम्ति लड्छु । एउटा मुख्य कुरा यो हो । दोस्रो कुरा, तपाईंले सम्झाउनुभयो, यो देशमा ५१ प्रतिशत महिलाहरु छन् । संविधानको धारा ११ हेर्नुहोस त । यो देशमा जन्मिएकी महिलाले अहिलेपनि आफूले जन्माएको सन्तानलाई नागरिकता दिन सक्दिनन् । एउटा धारामा गएर बाउ, आमाको नामबाट नागरिकता भनेको छ, अर्को धारामा गएर बाउको पहिचान खोज्छ ।

संविधानमा अपूर्णता के-के छन् ? अनि के-के गर्दा पूर्ण हुन्छ ?

एउटा कुरा त यो राज्यको शासकीय स्वरुप नै बदल्नुपर्छ । जुन निर्वाचन प्रणाली अहिले हामीले ४० प्रतिशत समानुपातिक र ६० प्रतिशत प्रत्यक्ष भन्यौं, यसो गर्दा प्रत्यक्ष जित्ने चाहीँ यति खर्चिलो भयो कि खाली ठेकेदारहरु करोडपति, अर्बपतिले मात्रै चुनाव जित्ने र त्यो समानुपातिकमा चाहीँ आफ्नै नातागोता, श्रीमती, भाई, छोरा, सम्धी र सासुलाई ल्याएर राख्ने जुन विकृति आयो । यो प्रणाली चाहीँ बदल्नुपर्छ । यसको निम्ति एउटा क्षेत्र छुट्याउँ, त्यहाँ चाहीँ वौद्धिक सदस्य क्षेत्र हुन्छ । समानुपातिकबाट महिला, दलित, जनजाति र जो त्यहाँका जातिहरु छन्, तिनीहरुको उम्मेद्धवार उठ्छन् । प्रत्यक्ष रुपमा तीन छानिन्छन् । यसरी अहिले नेताले टिका लगाएर समानुपातिक छान्ने होईन् । समानुपातिकपनि प्रत्यक्ष रुपमा चुनिएर जाने व्यवस्था गरौं । र, पूर्ण रुपमा प्रत्यक्ष निर्वाचित राष्टपति प्रणाली बनाऔं । त्यसो भयो भने निर्वाचन प्रणाली स्वच्छ हुन्छ । पूर्ण लोकतन्त्र आउँछ । एउटा कुरा यो हो । दोस्रो भनेको नेपाल भनेको हिमाल, पहाड, तराईमा बस्ने आदिवासी, थारु, जनजाति, लिम्बु, राई, तामाङ, गुरुङ, मगर, नेवार र कर्णालीका खस, मधेशका थारु, मधेशी भएको यो मुलुक हो । त्यसैले उनीहरुको पहिचान, अधिकारसहितको थाकथलो मिल्नेगरि संघीय ढाँचा बनाउनुपर्छ भनेर राज्य पूर्नसंरचना आयोगले जुन प्रतिवेदन दिएको थियो ।

१० प्रदेशको संघीय ढाँचा । त्यसमा जान पर्छ । र, दलितहरुको निम्ति (उनीहरु देशभरि छरिएको) हुनाले गैरभोगोलिक हुनुपर्छ । तेस्रो भनेको, महिलाहरुलाई पुरुषसरह सबै क्षेत्रमा मुख्यगरि नागरिकता चाहीँ प्राप्त हुने व्यवस्था हुनुपर्छ । र, संविधानको धारा ११ लाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ । यो जुन राष्टियसभा छ, यो विकति र विसंगतिको अखडा बन्यो । हारेकाहरुलाई र आसेपासेहरुलाई थुपार्ने जुन थलो बन्यो, यसलाई बदलेर सही अर्थको राष्टियसभा बनाऔं । न्यायपालिका अहिलेपनि पूरानै ढाँचाको छ। यति अपारदर्शी ढंगले दलहरुको भागबण्डाको आधारमा न्यायाधीशहरु नियुक्ती हुन्छन् । त्यसैले यो चाहीँ न्याय दिलाउने ठाउँ होईन, भ्रष्टाचार ढाकछोप गर्ने थलोजस्तो न्यायालय बन्यो । अख्तियारलगायतका संवैधानिक आयोगहरु नयाँ ढंगले गठन गर्नुपर्छ । संविधान संशोधन गरेर नै यसलाई बचाउनुपर्छ । मलाई लाग्छ संविधान बनाउनमा एक नम्बर भूमिका मैले नै निर्वाह गरेको हुँ ।

ऋषि धमलासँग गरिएको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार