
डब्बल नेकपाभित्र एउटा अन्तरविरोध के देखिन्छ भने यसका कैयन् भुइँ तहका कार्यकर्ताहरू अझै पनि आमजनतासित जोडिएका छन्, त्यसैले उनीहरूमा अझै रुपान्तरणकारी पक्षधरता र हुटहुटी देखिन्छ ।
सिंहदरबारको शासकीय नालीभित्र छिरेपछि यसको शीर्ष नेतृत्वको भने पूरै वर्ग–रुपान्तरण भएर उनीहरू त्यस्ता नवधनाढ्य वर्गमा बदलिएका देखिन्छन्, जो मुलुक र जनताप्रति थोरै पनि उत्तरदायी छैनन् । त्यसैले परिवर्तन खोज्ने कैयन् नेता/कार्यकर्ता र यथास्थिति खोज्ने शीर्ष नेतृत्वबीच नेकपामा लगातार चर्को द्वन्द्व देखिन्छ । त्यो द्वन्द्वलाई अहिलेको स्थायी समितिको निर्णय र समझदारीले सम्बोधन गरेको देखिँदैन ।
अतः त्यो द्वन्द्व छचल्किएर पुनः केन्द्रीय समितिको बैठक र सडकमा समेत नआऊला भन्न सकिन्न । झण्डै फुटकै डिलमा पुगिसकेको पार्टीमा खाली दल फुट्ने भयले मात्र यसलाई धेरै बेर रोकेर राख्ने स्थिति पनि देखिन्न ।
आखिर अवश्यम्भावी जस्तो देखिइसकेको नेकपाको यो फुट टारेको दोस्रो तेस्रोस्तरका नेताहरूको पहल र कार्यकर्ताहरूको दबाबले मात्र हो ।
यही स्थायी कमिटी बैठकमा नेकपाका नेता घुजी पन्तले भने भनेर कान्तिपुर दैनिकमा प्रकाशित एउटा भनाइनिकै सटिक देखिन्छः ‘हामी बाँदरजसरी लड्यौँ । एकअर्कालाई कोपराकोपर गर्यौँ । रक्ताम्मे भएपछि थाकेर युद्धविराम गर्न आइपुगेका छौँ ।’
अहिलेको समझदारी यथार्थमा युद्धविराम मात्रै हो । अर्थात–युद्ध अझै बाँकी छ । त्यो जारी नै छ ।
नेकपाभित्रको अर्को अहम् समस्या यो पार्टी सैद्धान्तिक र वैचारिक हिसाबले एकतावद्ध नहुनु हो । यस पार्टीभित्रको ठूलो हिस्सा अझै पनि मदन भण्डारीको बहुदलीय जनवादबाट उत्प्रेरित देखिन्छ भने माओवादी पार्टीको हिस्सा एक्काइसौँ शताब्दीको जनवाद र बहुदलीय समाजवादप्रति भक्तिभाव राख्छ । एमाले पक्षले सशस्त्र संघर्षको इतिहासलाई अनावश्यक र निन्दनीय ठान्दछ भने माओवादी पक्षले यसलाई गौरवमय र ऐतिहासिक मान्दछ ।
वास्तवमा यो दलको आधिकारिक विचार, सिद्धान्त र राजनीतिक रणनीति के हो ? यसका नेताहरू नै स्पष्ट छैनन् । दुवै दल एकतावद्ध भएपछि यो दल न हाँसको चालको भएको छ, न बकुलाको चालको । दुवै पक्षले एकै ठाउँमा बसेर आफ्नो सिद्धान्त, निर्देशक विचार र रणनीतिको मामिलामा यथेष्ट मात्रामा छलफल पनि गरेका छैनन् । पार्टी एकीकरणको प्रक्रिया पनि पूरा भएको छैन ।
कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिएर पनि बारम्बार उनको जिम्मेवारीमा हस्तक्षेपको मूल कारण अरु केही नभएर उनले बहुदलीय जनवाद सिद्धान्तको पक्षधरता र एमालेको सशस्त्र संघर्षविरोधी इतिहासलाई डिलिट गरिदेलान् वा प्रतिनिधित्व नगरिदेलान् भन्ने भय हो । यो भय अहिले पनि ज्यूँका त्यूँ छ । अहिलेको समझदारीले यो भयलाई कहीँ कतै पनि सम्बोधन गरेको देखिँदैन ।
यो स्थितिमा दुवै अध्यक्षले दुवैको काममा हस्तक्षेप नगर्ने भनेर बोलीमा भने पनि व्यवहारमा त्यस्तो हुन सक्ने देखिँदैन । दुवैतिर हस्तक्षेप फेरि पनि बारम्बार भई नै रहनेछ । त्यसले फेरि पनि बारम्बार टकराव पैदा गरी नै रहनेछ । यो फेरोमा चैतमा हुने भनिएको पार्टी महाधिवेशन भाँडिन बेर छैन ।
डब्बल नेकपा भन्ने दल दुई जना शीर्ष नेताको सत्ता साझेदारी र हचुवा आँटको जगमा मात्र खडा भएको थियो । यी दुई नेताको सत्ता बाँडचुँडको सर्त मिलुञ्जेल यो पार्टी एक हदसम्म लरेङतरेङ अघि बढिरहनेछ । त्यो सर्तको धागो चुँडिएपछि यो छताछुल्ल पक्कै हुनेछ । परन्तु पार्टी एकता भनेको दुई शीर्ष नेताको टुप्पी एकै ठाउँमा बाँध्ने काम मात्र कदापि होइन । पार्टी एकीकृत हुनका लागि टाउको, शरीर र खुट्टा सबै एकीकृत हुनु जरुरी हुन्छ ।
अहिले डब्बल नेकपाको यथार्थ के हो भने यो पार्टीको न टाउको एकीकृत भएको छ, न शरीर, न खुट्टा । अर्थात् यसको न विचार र सिद्धान्त मिलेको छ, न वास्तविक अर्थमा सांगठनिक एकता भएको छ, न भुइँ तहका कार्यकर्ता/समर्थकहरू मिलेका छन् । केवल सत्तास्वार्थको मसिनो धागोले दुई अध्यक्षका टुप्पी मात्र एकै ठाउँमा बाँधिएका छन् । यसैलाई भनिएको छ– दुई पाइलट भएको जेट प्लेनरूपी अचम्मको पार्टीएकता ।
देश यतिखेर एकातिर कोभिड– १९ को विश्वव्यापी महामारीको चपेटामा छ, अर्कोतिर भारतबाट सीमा अतिक्रमण र वर्षाजन्य बाढी प्रकोपको पनि । त्यो बेलामा नेताहरूको यो झगडा असामयिक मात्र छैन, अक्षम्य पनि छ । यो बेलामा युद्धविराम गरेर र मिलेर जाने घोषणा गरेर नेकपाका नेताहरूले ठीकै गरेका छन् ।
परन्तु, यो मिलाप दिगो हुनका लागि झगडाको मूल कारणलाई सम्बोधन गर्नु आवश्यक हुन्छ । नेकपाभित्र खासखास अंगमा, विशेषतः आधारभूत अंगमा क्यान्सर लागेको छ, जसले बेलैमा ठूलो सर्जरीको माग गर्छ । तर, क्यान्सर भएको ठाउँमा नदुख्ने ओखती दिएर ज्यूँका त्यूँ राख्दा त्यो तीव्र गतिले सल्किने सम्भावना हुन्छ ।
अहिले जुन उपाय अपनाइएको छ, त्यसबाट केही समय झगडा थामथुम मात्र हुनेछ, साम्य हुने छाँटकाँट छैन । यो झगडालाई एमसीसीको झगडाले अझै छताछुल्ल पारिदिने सम्भावना छ ।
केन्द्रीय समितिले बनाएको कार्यदलले दिएको प्रतिवेदनलाई उपेक्षा गर्दैै पेलेर एमसीसी पास गर्ने प्रयास भएमा नेकपा लामो समय यसरी नै एकतावद्ध भइरहन धेरै गाह्रो छ ।
जहाँ सिद्धान्त हुँदैन, विचार हुँदैन, उन्नत नैतिकता र संस्कृति हुँदैन, त्यहाँ राजनीतिक पार्टी भनेको स्वार्थ समूहहरूको महासंघ सिवाय केही हुँदैन । त्यो बेलामा निहित स्वार्थ मिलुञ्जेल मात्र पार्टी एकतावद्ध रहन्छ, नत्र टुट्छ । कामना गरौँ, डब्बल नेकपा त्यस्तो नहोस्, त्यस्तो पार्टी हुनबाट माथि उठोस् ।
श्याम श्रेष्ठले शिलापत्रलाई दिएको विचारको सानो अंश ।







