अहिले सबै कुरा मिलिसक्यो भन्ने होइन ।अहिले हामी केमा मिल्यौं भने पार्टीलाई विभाजनतिर जान कदापि दिनुहुँदैन । हामीले गरेको यो एकता ऐतिहासिक, असाधारण र दुरगामी महत्वको राजनीतिक परिघटना हो, यसलाई जोगाउनै पर्छ भन्ने प्रतिज्ञा गरिएको छ । जोगाउने प्रक्रियामा विधि पद्दतिको पालना गर्नैपर्छ भन्ने कुरालाई पनि बडो प्रस्टसँग भनिएको छ । र, अन्तत पार्टी भनेको विचार हो र पार्टी भनेको विधि हो ।

पार्टी विचार र विधिको संयोजन पनि हो । त्यसकारण विचारलाई विकास र परिमार्जन नगरिकन, विचारलाई मार्क्सवादी सिद्धान्तको आलोकमा र विगतमा नेपालका कम्युनिष्ट आन्दोलनमा हासिल भएका ठूला ठूला आफ्नै मौलिक अनुभवहरुको पनि वैचारिक संश्लेषण नगरी पार्टीलाई सुदृढ गर्न र निरन्तर अगाडि लैजाने संयन्त्रको रुपमा विकास गर्न सम्भव हुँदैन भन्ने कुरा गरिएको छ ।

त्यो काम महाधिवेशनको दौरानमा गर्नुपर्छ भनिएको हुनाले अहिले अब सबै कुरा मिल्यो, छलफल नै गर्न पर्दैन भन्ने अर्थ लाग्दैन । महाधिवेशनका दौरानमा छलफल गर्नपर्छ तर हामीले के भन्यौं भने पार्टी कतै दुर्घटना नै हुने हो कि ? त्यतिमात्रै होइन जनताले भरोसा र विश्वास गरेर देशको सबभन्दा ठूलो पार्टी बनाउदै झण्डै दुई तिहाइ बहुमत दिएका पार्टीमा विग्रह अथवा विभाजनै पो हुने हो कि ? त्यो पार्टी विभाजन हुँदा एउटा सामान्य पार्टी विभाजन भएजस्तो हुँदैन । यो पार्टीमा विग्रह आयो भने त्यसले देशको समग्र राजनीतिमा नै विग्रह आउने हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा नै गम्भीर प्रश्नचिन्ह खडा गर्ने स्थिति बनाइदिन्छ । या त्यसले कहीँ न कहीँ प्रतिगमनकारी र प्रतिक्रान्तिकारीका निम्ति वातावरण बन्ने खतरा पैदा हुन्छ ।

त्यसकारण अरु सामान्य पार्टीमा जस्तो झगडा भयो, विवाद भयो र विभाजन भयो भन्नेजस्तो स्थिति हुने होइन यो । त्यसो भएको हुनाले हामीले पार्टी विभाजन हुन विल्कुल दिइने छैन, दिइँदैन, एकताबद्ध गरिन्छ । हिजो भएका सहमति समझदारी कार्यन्वयन गरेर गइन्छ र महाधिवेशनक दौरानमा अझ विचारलाई परिमार्जन गरिन्छ, सिद्धान्तलाई विकसित गरिन्छ र विधिपद्दतिलाई दरोसँग पालन गर्ने पार्टीको रुपमा लगिन्छ भन्नेमा हाम्रो अहिले सहमति छ ।

कहिलेकाही विचारमा अन्यौल देखापर्छ, त्यसलाई पनि हटाउन सकिन्छ र नयाँ विचार संश्लेषणबाट र नयाँ विधिपद्दतिबाट सम्बृद्ध भएको पार्टी र आम सदस्य र कार्यकर्ताहरुमा पनि एउटा नयाँ आत्मविश्वाससहितको पार्टी बनाउने नै मेरो योजना हुन्छ । त्यो कामको अस्तिमात्रै संगठन विभागको बैठक बसेर सुरुवात भएको छ । स्थायी समितिको बैठकसँगसँगै संगठन विभागबाट अब संगठन सुदृढीकरण हुन्छ ।

स्थायी समितिले दिशानिर्देश गरेको गुटबन्दीको अन्त्य आदि इत्यादि र महाधिवेशनको तयारीको शुरुवात भइसकेको छ ।स्थायी समितिले पारित गरेको प्रस्तावलाई हामी दुईटा अध्यक्ष बसेर अन्तिम रुप दियौं र सर्कुलर वितरण भइसकेको पनि  छ । अब तुरुन्तै सचिवालयको बैठक बसेर सदस्यताको लिस्ट बनाउने, नवीकरण गर्ने, प्रदेश वा जिल्ला स्तरमा प्रशिक्षण चलाउने जस्ता प्रक्रिया अगाडि जान्छ ।

रातोपाटीसँग गरिएको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार