
भारतको कंकोण रेलवे कर्पोरेसनबाट खरिद गरिएका नेपालका दुई रेल हिजो नेपाल पुगेर आज फेरि भारत नै फिर्ता गएका छन् । आज दिउँसो १२ बजेतिर रेल भारततर्फ गएका हुन् ।
स्रोतका अनुसार अब रेल नेपालमा २ महिनापछि आउँने सम्भावना रहेको बताइए पनि टुंगो भने छैन। शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरलगायत १६ जना कर्मचारीले रेल नेपाल ल्याएर आएका थिए।
नेपालमा रेल चलाउने कर्मचारी र कानुन छैन । सरकारले गत भदौ २९ मा रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको छ। उक्त विज्ञापनको पदपूर्ति भएपछिमात्र रेल चलाउने कर्मचारी हुनेछन्। त्यसमा पनि ड्राइभर, सहायक ड्राइभरजस्ता प्राविधिक कर्मचारी भने तत्कालका लागि भारतबाट ल्याउनु पर्नेछ ।
भारतको जयनगरमा नेपालको आफ्नै स्टेशन छ र अब, त्यही स्टेशनमा रेल राखिनेछन् र बेलाबेलामा इन्जिनको हेरचाहसँगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले गर्नेछ ।







