
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहमा भइरहेको भ्रष्टचारको छानबिन गर्ने भएको छ ।
कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न विप्लव नेकपाले आदेश दिएको छ ।
विप्लव नेकपाका झापा सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न आदेश दिएका हुन् ।
झापाका विभिन्न स्थानीय तहका निजी तथा सामुदायिक शिक्षण संस्थाहरूले तत्काल शुल्क तिर्न भनेर अभिभावकहरूलाई ताकेता गरिरहेको जानकारी प्राप्त भएको भन्दै उक्त कार्य तुरुन्तै बन्द गर्नसमेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
आइतबार साँझ जारी गरिएको विज्ञप्तिमा बैङ्क तथा लघुवित्तहरूले मध्यमवर्गीय गुजारामुखी व्यवसायीहरूलाई किस्ता र ब्याजको ताकेता गरेर चर्को समस्या पैदा गरेको हुनाले उक्त काम तुरुन्तै बन्द गर्नसमेत आग्रह गर्दै अटेर गरे पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला कथित कम्युनिस्ट पार्टीको माफिया सरकार राष्ट्र र जनताको जीवनलाई सङ्कटको आगोमा हालेर छट्पटाहट थोपरिरहेको छ । घरघरमा सरकारको प्रत्याभूति गराउँछौँ भन्नेहरूको लुटखसोट र बेइमानीले प्रताडित जनता वाक्कदिक्क छन् । सरकारी लुटेरा समूहको लुटले जनता प्रताडित भइरहँदा यता झापामा पनि लुटखसोटले जनता पिल्सिन पुगेका छन् ।’








