थाइल्यान्डको राजधानी बैङ्ककमा थाइ नरेश महा बजिरालोकर्नको अधिकार कटौतीको माग गर्दै हजारौँ जनताले प्रदर्शन गरेका छन् ।

राजाको विरोध गर्न नहुने लामो समयदेखिको परम्परा तोड्दै पछिल्ला दुई महिनामा थाइल्यान्डमा राजदरबार र सेनाको नियन्त्रण रहेको सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।

अधिकांश समय युरोपमा बिताउने गरेका थाइ नरेश अहिले पनि थाइल्यान्डमा छैनन् । प्रदर्शनकारीहरूलाई निःशस्त्र प्रहरीहरूले रोक्ने प्रयास गरेका थिए ।

प्रदर्शनकारीहरूका नेताले प्रदर्शनकारीहरूको तर्फबाट ज्ञापनपत्र प्रहरीलाई बुझाएको जानकारी दिए ।“हामीजस्तो सर्वसाधारणले पनि राजालाई चिट्ठी लेख्न सक्छ भन्ने कुरा पुष्टि हुनु नै अहिलेको हाम्रो सफलता हो”, प्रदर्शनकारीका नेता परित ‘पेइनगुन’ चिवारकले भने ।

प्रदर्शनकारीहरूले राजदरबारमा सुधार, प्रधानमन्त्रीलाई पदबाट बर्खास्त गर्न र नयाँ संविधान तथा निर्वाचनको माग गर्दै नाराबाजी गरेका थिए ।

आइतबार बिहान सूर्योदय हुनुअघि नै प्रदर्शनकारीहरूले बैङ्ककको ग्रान्ड प्यालेसनजिक एउटा पताका झुन्ड्याएका थिए । त्यसमा लेखिएको थियो, “यो ठाउँमा जनताको अभिव्यक्ति दिने ठाउँ हो । यो देश जनताको हो । यो देश राजाको सम्पत्ति होइन ।”

सरकारका प्रवक्ताले प्रदर्शनकारीमाथि प्रहरीले हिंसात्मक दमन नगर्ने र प्रदर्शनकारीहरूले दिएका अवैध अभिव्यक्तिमाथि कारबाहीको लागि प्रहरी नै जिम्मेवार रहेको बताएका छन् ।

बैङ्कक सरकारले यसरी राजपरिवारको विरोध गरेर पताका राख्नु अवैधानिक हो वा होइन र त्यसलाई हटाउने वा राख्ने भन्ने कुराको निर्णय गर्न जिम्मेवारी भएको बताइएको छ ।

थाइल्यान्डका विश्वविद्यालयबाट सुरु भएको सङ्घर्षमा पछिल्लो समय अरू समुदायका मानिसहरू पनि बढ्दै छन् । पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा समर्थकहरूको सङ्ख्यामा प्रदर्शन बढ्दै गएको बताइएको छ ।

“आफ्ना बाबु–बाजेले हिम्मत नगरेको काम अहिलेका युवाहरूले गरिरहेका छन् । हामी यसमा गौरव गर्छाैँ”, ५० वर्षका सामपोर्न आउटसाले भने । उनी राजावादी हुन् । “हामी राजतन्त्रको सम्मान गर्छौँ तर राजतन्त्र संविधानअन्तर्गत हुनुपर्छ”, उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार