
प्रहरी हिरासतमा रहेको बेला कोरोना संक्रमित विप्लव नेकपाका चितवन इन्चार्ज लालबहादुर बीसीलाई सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तैं प्रहरीले बेपत्ता पारेको छ ।
सर्वोच्चले शुक्रबार बीसीलाई सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा थुनामुक्त गर्नू भन्ने आदेश दिएलगत्तैं प्रहरीले सुनसरीबाटै उनलाई बेपत्ता बनाएको हो ।
सर्वोच्च अदालतमा शुक्रबार भएको बहसपछि नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गिरफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले कहाँ लग्यो भन्ने थाहा नभएको भन्दै परिवारका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान राउत र तेजबहादुर केसीको इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, मनोहर लामिछाने, चूडाबहादुर निरौला र राजु अधीकारले बहस गरेका थिए ।
नेता बीसीलाई सरकारले भदौ १८ गते चितवन अदालतबाट रिहा भए पनि पुनः गिरफ्तार गरी सुनसरी पुर्याएर हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरी नियन्त्रणमै रहेको बेला उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।







