
मन्त्रालयका विषयमा सत्ताधारी नेकपामा फेरि आन्तरिक कलह शुरु भएको छ ।
स्रोतका अनुसार पुर्नगठनमा प्रचण्डले ओलीसँग पूर्व माओवादीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनेपर्ने प्रस्ताव राखेका छन् ।सञ्चार मन्त्री सरकारको प्रवक्ता पनि हुने भएकाले सन्तुलनका लागि पूर्वमाओवादीलाई दिनु पर्ने तर्क प्रचण्डको छ ।
तर, ओलीले यो प्रस्ताव नस्वीकारेकाले मन्त्रिपरिषद् पुर्नगठनमा सहमति हुने नसकेको निकटस्थ स्रोतले बतायो । ओलीले प्रचण्डलाई यो विषयमा कुरै ननिकाल्न भन्ने तर, प्रचण्डले आफ्नो मुख्य माग नै यही भएको बताउनाले सहमति हुन नसकेको स्रोतहरु बताउँछन् ।
गत भदौ २० मा डा. युवराज खतिवडा म्याद सकिएपछि अर्थ मन्त्रालय खाली छ । मन्त्री गोकुल बास्कोटाको ७० करोडको अडियो काण्ड बाहिर आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र तत्कालीन समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास मन्त्रालय खाली छन् ।
मन्त्रिपरिषद् पुर्नगठनमा ओली र प्रचण्डबीच पटक पटक छलफल भएपनि सञ्चार मन्त्रालयमा गएर कुरा अड्किएको छ ।
प्रचण्डले अहिलेको मन्त्रीपरिषदका रहेका मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने र त्यसका आवश्यक पर्ने पुराना मन्त्रीहरुलाई मन्त्रालय साटफेर गरेर दोह¥याउने प्रस्ताव गर्दै आएका छन् ।
ओली भने खाली भएका तीन मन्त्रालय र भाग पु¥याउन तीन मन्त्रालय फुटाउने तथा पुराना मन्त्रीलाई यथावत राख्ने पक्षमा छन् । प्रचण्डसँगको छलफलमा पनि ओलीले त्यही विषय राख्दै आएको स्रोतहरु बताउँछन् । तर, प्रचण्डले भने मुख्य माग सञ्चार मन्त्रालय पाउनुपर्ने राख्दै आएका छन् ।
ओली सो मन्त्रालयमा आफू निकटका नेतालाई मन्त्री बनाउन चाहिरहेका छन् । अहिले कामचलाउ रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।
तर, मन्त्री भने खाली छ । सञ्चारमन्त्री सरकारको प्रवक्ता हुन्छ । सरकारको प्रवक्ताले सरकारी संचारमाध्यममा प्रभाव राख्ने भएपछि धेरैलाई यो आकर्षणको मन्त्रालय हुने गरेको छ ।







