
विप्लव नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सामना सांस्कृृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई प्रहरीले घरमा बसिरहेको बेला गिरफ्तार गरेको भन्दैं तुरुन्त रिहा गर्न माग गरेको छ ।
महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा घरमा बसिरहेको बेला गृह प्रशासनले कविता र रामलाई गिरफ्तार गरेर कायरता प्रदर्शन गरेको भन्दैं विरोध गरेको छ ।
जनताका प्रिय कलाकारहरूमाथि पटक पटक सामाजिक फासिवादी ओली सरकारले गरेको गिरफ्तार गरेर दमनको बाटो अख्तियार गरेको भन्दैं सङ्गठनले सशक्त प्रतिवाद गर्ने महासचिव थपलियाले चेतावनी दिएका छन् ।
थपलियाको विज्ञप्तिमा भनिएको छ –
‘हाम्रो सङ्गठन जनताको महान् बलिदानबाट प्राप्त भएको राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न एवम् गिरफ्तार जनकलाकार कविता पुन, र राम पुनलाई तत्काल स–सम्मान रिहा गर्न जोडदार माग गर्दछ । हाम्रो सङ्गठन क्रान्तिकारीहरूलाई मारेर, थुनेर, थकाएर, गलाएर वा आत्मसमर्पण गराएर महान् जनक्रान्तिको गतिवान प्रवाहलाई रोक्ने सपना नदेख्न पनि बादल गृह प्रशासनलाई यसै वक्तव्यमार्फत चेतावनी दिन चाहन्छ ।’








