
विश्वास र अविश्वासको कुरा दृष्टिकोण र आवश्यकताका आधारमा तय हुने विषय हो । अहिले पनि हाम्रो समाजमा पार्टी संस्कृतिभन्दा निम्न पुँजीवादी संस्कृति हाबी रहेको अवस्थामा हरेक कुरा चुनौतीपूर्ण हुन्छ नै । तर नेतृत्वको जिम्मेवारी हुन्छ चुनौतीलाई सामना गरेर सफल बनाउने ।
अहिले पार्टीको नेतृत्व गरिरहनु भएका दुई अध्यक्षका सामु आफूले थालेको युगान्तकारी घटनालाई सफल बनाएर महानायक हुने कि यसको असफलतासँगै आन्दोलनको भविष्यलाई समाप्त हुन दिएर खलनायक हुने भन्ने दुई विकल्प तेर्सिएको अवस्था छ । सायद यही पक्षलाई महसुस गरेर नै उहाँहरु एकतातर्फ फर्कनु भएको छ । एकताको दिगोपनाको मुख्य आधार नेतृत्वले चुनौती र दायित्वलाई बोध गर्ने कुरा नै हो ।
अर्कोतिर पार्टी एकता सिङ्गो पार्टी पङ्क्तिको आवश्यकता पनि हो । अनि मुलुको दीर्घकालीन हित र स्थायित्वका लागि पनि उत्तिकै आवश्यक छ । यही आधारले नै एकतालाई सफल बनाउन प्रेरित गर्छ ।
अन्तर्राष्ट्रिय स्तरका सफल पार्टी र आन्दोलनहरु नेतृत्वले जिम्मेवारीबोध गर्न नसक्दा दुर्घटनामा परेको तीतो सत्यसँग हामी सबै परिचित नै छौँ । त्यसले पनि हामीलाई जोडिन प्रेरित गर्दछ ।
र्व पृष्ठभूमिले पनि अन्तर विरोधका रूपमा काम गरेको छ । विगतमा दुई भिन्न ऐतिहासिक पृष्ठभूमि, दुई भिन्न कार्यदिशा र स्कुलिङबाट हुर्किएका पार्टीहरुका बीचमा मनोविज्ञानको तहमा पनि फरकपना रहेको अवस्था हो । तर वर्तमान अवस्था र भविष्यको प्रश्नमा हामी बीचमा सामञ्जस्यता देखिएर नै एकता कायम हुन गयो । तर विगतको पृष्ठभूमिलाई वर्तमानका क्रियाकलापले जित्न अझै सकेको छैन ।
त्यसमाथि भविष्यको प्रश्नमा केन्द्रित रहेर बहस पनि सुरु भइसकेको छैन । महाधिवेशनको प्रक्रियामा त्यो अवसर प्राप्त हुनेछ । जसले पूर्व समूहको मनोविज्ञानलाई जोड्ने र एकताको आधारलाई बलियो बनाउने काम गर्ने छ ।
अहिले पनि भविष्यका प्रश्नमा केन्द्रित हुने हो भने हाम्रा बीचमा एकताभन्दा मतभेदहरु नै बढी छन् । कतिपय अवस्थामा पूर्वपार्टीहरुका बीचको सम्बन्ध शत्रुतापूर्ण जस्तो समेत बन्न गएको हो । अतितका प्रश्नमा नअल्झीकन भविष्यका प्रश्नमा केन्द्रित हुने हो भने एकता निर्माण सहजै हुनेछ । त्यही कुराले नै हामीलाई विभाजनको डिलमा पुगेर पनि एकतातर्फ फर्कन प्रेरित गरेको हो ।
अहिले हाम्रो पार्टी वैधानिक रूपमा एउटा पार्टी भए पनि वैचारिक र साङ्गठनिक रूपमा एउटा पार्टी बन्न सकेको छैन । अहिले नेकपा बाहिरी रूपमा एउटा र भित्री रूपमा अनेकताको अवस्थामा छ ।
मैले भन्ने गरेको छु, अहिलेको नेकपा सुन्तला जस्तो छ । बाहिरबाट हेर्दा एउटा भित्र अनेक केस्रामा विभाजित छ । अब यसलाई स्याउ जस्तो पार्टी बनाउनुपर्छ । त्यसका लागि एकता महाधिवेशनका माध्यमबाट विचारको संश्लेषण गर्ने र नेतृत्वलाई एकीकृत गर्ने काम गर्नु पर्दछ ।







