
मन्त्रिपरिषद् पुर्नगठनका लागि एक सातादेखि दैनिकजसो बसिरहेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र प्रचण्डबीचको बैठकमा सहमति जुट्न सकेको छैन ।
पार्टीभित्रैको झगडा मिलाउन मन्त्रिपरिषद् हेरफेर र विस्तार गर्ने सहमति भएपछि कुन मन्त्रीलाई हटाउने र नयाँ कसलाई ल्याउने भन्नेमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन ।
पूर्वएमाले र पूर्वमाओवादीबीच भागवण्डा गरेर मन्त्रिपरिषद् विस्तार हुने हो । पहिला पनि त्यसरी नै गरिएको थियो । तर, यसपटक पूर्वएमालेका अध्यक्ष ओलीले आफ्नो कोटाबाट दुई पूर्व माओवादी नेतालाई मन्त्री बनाउने प्रस्ताव गरेपछि प्रचण्ड अफ्टेरोमा परेका छन् ।
ओलीले पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य भएका जनार्दन शर्मा र टोपबहादुर रायमाझीलाई मन्त्री बनाउने बताएपछि प्रचण्डले बखेडा झिकिरहेको स्रोतले बतायो । उनीहरु ओलीको कोटाबाट मन्त्री बनेपछि आफ्नो शक्ति क्षयीकरण हुने भन्दै प्रचण्डले बखेडा झिकेको स्रोतहरु बताउँछन् ।
पार्टी फुटको संघारमा पुग्दा आफूलाई सघाएका रायमाझी र शर्मालाई ओलीले मन्त्री बनाउन खोजेपछि प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउनु पर्ने अडान राखेका छन् । ओलीलाई गाह्रो पार्न नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रचण्डलाई साथ दिएका छन् ।
स्रोतका अनुसार भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वम मन्त्री शक्ति बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको मन्त्री पद धरापमा पर्ने निश्चितजस्तै रहेको स्रोतहरु बताउँछन् ।







