सत्ताधारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता हुँदै आएको थियो ।

मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले बुधबार हुने भनिएको दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको तर कारणबारे आफूलाई थाहा नभएको जानकारी दिए । ‘अध्यक्ष प्रचण्डबाट भेटवार्ता स्थगित गराँ भन्ने खबर आएकाले बुधबार हुने भनिएको वार्ता स्थगित भएको छ । कारण के हो भन्नेचाहिँ थाहा भएन’, नेम्वाङको भनाइ छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड राम्रो पर्फमेन्स देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई समेट्नुपर्ने पक्षमा छन् ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । ति दुवै बैठकले अध्यक्षद्धयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार