सत्ताधारी नेकपामा प्रचण्ड आफ्नैं कारणले फेरि राजनीतिक रुपले थला परेका छन् ।

अहिले हरेक दिन ओलीसँग पाखुरा सुर्केर केही थान मन्त्रीका निम्ति प्रचण्ड लडिरहेका छन् ।प्रचण्डका हिजोका सबै सहयोगीलाई ओलीले हातमा लिएका छन् । मन्त्रिपरिषदमा रहेकाहरुलाई ओली हटाउन तयार छैनन् ।

बाहिर भएकाहरुलाई पनि मन्त्रीको आश्वासन दिइरहेका छन् । तर प्रचण्ड भने हाल मन्त्रिपरिषदमा रहेका सबै सदस्य हटाउने र नयाँ पठाउने अडान राखिरहेका छन् । यस अडानले भएभरका मन्त्रीहरु प्रचण्डसँग चिढिएका छन् ।

भोलि मन्त्रिपरिषद पुनर्गठन हुँदा पनि सबैले पालो पाउने छैनन् । मन्त्रिपरिषदमा दिनदिनै ओलीसँग काम गर्नुपर्छ । ओलीको विश्वासमा रहेर काम नगरे आफ्नै भूमिका ओझेल पर्छ ।

त्यसैले जानी नजानी ओलीको बन्नुपर्ने बाध्यता हुन्छ, नयाँ मन्त्रीहरुलाई पनि । मन्त्री बन्नेभन्दा मन्त्रीका आकांक्षी बढी हुन्छन् ।

आकांक्षा राखेर नपाउनेहरु प्रचण्डसँग चिढिनेछन् । ओली पार्टीभित्र सक्दो धेरै प्रचण्डप्रति अविश्वास र असन्तोष जन्माउन चाहन्छन् । त्यसमा उनी सफल हुँदै पनि गएका छन् । तर, प्रचण्डले यो कुरा नबुझेर ससाना स्वार्थका लेनदेनमा जकडिन पुगेका छन् । झीनामसिना कुरामा अडान राखेर आफ्नै विरुद्धमा माहोल बनाइरहेका छन् ।

कुनै बेला प्रचण्डका विश्वासपात्र मात्र होइन, उनको सुरक्षाका निम्ति आफैले गोली थापेकाहरु अहिले प्रचण्डसँग टाढिएका छन् । प्रचण्डका व्यवहारबाट उनकै सहयोगीहरु रुष्ट छन् ।

सुदूरपश्चिमका माओवादी खम्बा लेखराज भट्टले प्रचण्डको साथ छाडिसकेका छन् । उनी अहिले ओलीका एक नम्बर समर्थक भएका छन् ।

पार्टी विवाद मिलाउँदा जनार्दन शर्माले ओलीको पक्षबाट पैरवी गरेका छन् । प्रचण्डको भूमिकाबाट रुष्ट भएका शर्माले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि पनि ओलीको ओत लाग्नुपर्ने बाध्यतालाई आत्मसात् गरेका छन् ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादललाई ओलीले हटाउन नचाहने तर प्रचण्ड कुनै हालतमा राख्न नचाहने कारणले द्वन्द्व सिर्जना भएको छ ।

यस द्वन्द्वको लाभ पनि ओलीलाई नै पुग्ने देखिएको छ । किनभने, पूर्वमाओवादीभित्रै बलेको आगो जति रापिलो भयो, अब पुसमागको जाडोमा उति नै आनन्ददायी हुनेछ, ओलीका निम्ति ।

किनभने, आउँदो चैतमा महाधिवेशन गर्नु छ । त्यतिञ्जेल प्रचण्ड सिपाहीबिनाका कमाण्डर हुनेछन् । यस्ता कमाण्डरसँगको लडाइँ नलडेरै जितिन्छ भन्ने ओलीले जति अरु कसले जितेका होलान् र ?

कुनै बेला प्रचण्डका पीए थिए, शक्तिबहादुर बस्नेत । तर अहिले बस्नेतका लागि प्रचण्डभन्दा ओली भरपर्दा अभिभावक भएका छन् ।

त्यसो त नेकपा एकीकरणअघि नै बस्नेत लगायत तत्कालीन माओवादीका दोस्रो छिमलका नेताहरु प्रचण्डले पार्टी एकता गर्न ढिला गरे उनलाई छाडेर आफूहरु मात्रै एमालेमा प्रवेश गर्ने धम्की दिएका थिए ।

प्रचण्डले पनि आफू एक्लो पर्ने भएपछि हतारहतार माओवादीको चाबी ओलीको हातमा सुम्पिएका थिए । त्यसयता ओली घरधनी र प्रचण्ड डेरावालको हैसियतमा छन् ।

प्रचण्डका सबै पूर्वसहयोगीहरुलाई ओलीले आफ्नै सन्तानजस्तो गरी राखेका छन् । तर प्रचण्ड भने आफ्नै भूमिकाका निम्ति संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार