
सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारी कोरोना संक्रमण फैलिएपछि वामदेव गौतमको भविष्य थप अन्योलमा परेको छ । सांसदको शपथ खाए पनि अदालतको आदेशका कारण मन्त्री बन्न नपाएका वामदेवका लागि छटपटीको समय अझै लम्बिने देखिएको ।
वामदेविरूद्धको रिटको सुनुवाइका क्रममा इजलासमा बसेका न्यायाधीश पुरुषोत्तम भण्डारीमा संक्रमण देखिइसकेको छ भने प्रधानन्यायाधीश लगायत अन्यमा पनि संक्रमणको जोखिम देखिएको छ । त्यसैले आगामी बुधबार पाँच न्यायाधीश रहने संवैधानिक इजलासले पनि वामदेवलाई मन्त्री बन्नबाट रोक्ने आदेशबारे सुनुवाइ गरी पुनर्विचार गर्ने सम्भावना निकै कम छ ।
न्यायाधीश भण्डारी लगायत केही कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत नै बन्द गरिएको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बन्दीप्रत्यक्षीकरण लगायत जरूरी प्रकृतिका निवेदन मात्र हेर्ने व्यवस्था मिलाइएको छ ।
अरु सबै इजलासको सुनुवाइ स्थगित गरिएको छ । अब कम्तीमा पाँच दिन होम क्वारेन्टिन बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गरिनेछ । केही न्यायाधीशलाई हल्का ज्वरोसहित रुघाखोकीको लक्षण देखिएको छ । यसले मुद्दा व्यवस्थापन जटिल बनेको छ ।







