
सत्ताधारी नेकपाका वर्गीय संगठनहरु एकतालाई अन्तिम टुङ्गो लगाउन आतुर भइरहेका बेला सबैभन्दा पहिले एकीकृत भएको पिन (प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन अफ नेपाल-पिन) मा भने समानान्तर कमिटी गठन भएको छ ।
सत्ताधारी नेकपाभित्र अरु कुनै पनि जनवर्गीय संगठनहरुको एकता नहुँदै ०७५ साउन १२ गते पिन एकीकृत भएको थियो । रोचक के भने अरु जनवर्गीय संगठनमा भन्दा पहिलो समानान्तर कमिटी पनि पिनमै गठन भएको छ ।
हिजो असोज १७ गते पिनको बागमती र विश्वविद्यालयमा समानान्तर कमिटी गठन भएको हो । असन्तुष्टहरुले बागमती प्रदेशमा सुवोध सत्याल र विश्वविद्यालय प्रदेश कमिटीमा जनार्दन भट्टको संयोजकत्वमा १९–१९ सदस्यीय समानान्तर कमिटी गठन गरेका हुन् ।
यसअघि अध्यक्ष र महासचिवसहितले पदम ओलीको संयोजकत्वमा वागमती प्रदेश कमिटी र कल्याण पौडेलको संयोजकत्वमा विश्वविद्यालय प्रदेश कमिटी गठन गरेका थिए ।







