नेकपा (क्रान्तिकारी माओवादी)ले अहिले नयाँ जनवादी क्रान्तिका पक्षधर शक्तिलाई एकताबद्ध तुल्याउने प्रयास गरिरहेको छ । मुद्दा मिल्ने शक्तिहरुसँग कार्यगत एकता पनि गरिरहेको छ । केही पार्टीहरुबीच विगतमा कार्यगत एकतालाई पार्टी एकतासम्म लैजाने सहमति पनि भएको थियो । अहिले त्यो सहमतिको स्थिति के छ ? पहल र सम्भावना के कस्तो रहेको छ ? यसबारेमा केही बताइदिनुस् न ।

हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिका पक्षभरसहित सच्चा क्रान्तिकारी कम्युनिस्ट समूहहरुलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास र पहल गर्दै आएको छ । यस प्रकारका कतिपय शक्तिहरुसित संघर्षका लागि कार्यगत एकता पनि हुँदै आएको छ । जहाँसम्म पार्टी एकताको सहमति, पहल र सम्भावनाका कुरा हुन्, तिनलाई द्वन्द्वात्मक प्रक्रियाका रुपमा बुझ्दा उपयुक्त हुन्छ । हाम्रो पार्टीले नयाँ जनवाद र वैज्ञानिक समाजवाद, माक्र्सवाद–लेनिनवाद–माओवाद-विचारधारा मान्ने पक्षसित कैयौं पटक कुराकानी चलायौं, तर आ–आफ्ना विचार र दृष्टिकोणबाट टसको मस नगर्ने सोच बढी प्रभावी भएको पायौं । कतिपय पक्षको पार्टी एकताप्रति नै खास चासो देखिएन । यसै प्रसंगमा एकीकरण र ध्रुवीकरणका कुरा पनि उठे । कतिपय पक्षबाट एकीकरण होइन ध्रुवीकरणमा विशष जोड दिइयो । यस प्रकारका सोचहरु पार्टी एकताका लागि बाधक बन्दै आएका छन् । यति हुँदा हुँदै पनि हाम्रो पार्टीले पार्टी एकताका लागि अझै पहल गर्नुपर्छ भन्ने बारे आवश्यक ध्यान दिंदै आएको छ । सच्चा कम्युनिस्टहरु बीचको एकता आजको ऐतिहासिक आवश्यकता हो ।

विचार, राजनीतिक कार्यदिशा वा अन्य प्रवृतिगत प्राविधिक के कारणले क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध तुल्याउन सकिएको छैन ? चुनौती र सम्भावना के कस्ता छन् ? यो अलि आम चासोको विषय बनेको छ । केही बताइदिनुस् न ।

पार्टी एकताको बाधक प्राविधिक कारण होइन विचार, राजनीतिक कार्यदिशा वा अन्य प्रवृत्तिगत कारण नै हुन् । विचारधारात्मक र राजनीतिका रुपमा आधारभूत विषय एकरुपता नभईकन पार्टी एकता गर्नुको कुनै अर्थ रहन्न । परन्तु, यसबारे गम्भिर छलफल र बहसको प्रक्रिया अगाडि बढाउन जरुरी छ । मिल्ने र नमिल्ने विषय के के हुन् भन्ने बारे आवश्यक छलफलत पछि नै चिज स्पष्ट हुँदै जाने छ । यस तहको छलफल र बहस अझै हुन सकेको छैन । त्यसतर्फ अगाडि बढ्नु पर्दछ ।

नेकपा क्रान्तिकारी माओवादीनिकट मूलबाटो पत्रिकालाई दिएको अन्तर्वार्ताको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार