
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको २६ महिनामा पनि सांगठनिक एकताको काम पूरा गर्न सकेन ।
पार्टी एकताका थाती रहेका काम टुङ्ग्याउन मंगलबार सचिवालय बैठक बसे पनि ‘छल मात्र भएको फल ननिस्किएको’ पार्टीका वरिष्ठ नेता झलनाथ खनालले टिप्पणी गरे ।
“छलफल मात्र भयो । कुनै पनि विषयमा निर्णय हुन सकेन । अर्को बैठकले यसबारे निर्णय गर्ने छ,” उनले भने । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको कथन पनि यही थियो ।
यसअघि असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र साङ्गठनिक एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाईसमेत जिम्मा दिएको थियो । स्रोतका अनुसार अध्यक्षद्वयले प्रस्ताव नै तयार पारेका छैनन् ।
आजको बैठकमा अध्यक्षद्वयले मूर्त प्रस्ताव पेस नगरेको एक सदस्य बताउँछन् । प्रस्ताव पेस नगरेकाले विषयमा सामान्य छलफल मात्रै भएको ती सदस्यको दाबी छ ।
स्रोतका अनुसार आजको बैठकमा अनसनरत डा गोविन्द केसीले अघि सारेका माग र त्यसको कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्रीले झण्डै ४५ मिनेट ब्रिफिङ गरेका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीका मागमा गम्भीर बन्नुपर्ने र तत्काल वार्ता थाल्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले शिक्षा सचिव पठाएर वार्ताको पहल सुरु गरेको जवाफ दिएका थिए ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै नउठेको प्रवक्ता श्रेष्ठको भनाइ छ । “त्यसबारे आजको बैठकमा कुनै छलफल भएन । कहिले पुनर्गठन हुन्छ भनेर बैठकलाई कुनै जानकारी पनि दिइएन,” प्रवक्ता श्रेष्ठले पत्रकारहरूलाई सूचित गरे ।







