
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको बताएका छन् ।
यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चलेको बहसले पुष्टि गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको उनले बताए ।
बुधबार गृहजिल्ला गोरखा पुगेका नेता भट्टराईले पत्रकारसँग कुराकानी गर्दै भने, ‘यसरी देश कहिलेस्म्म चल्न सक्छ ?’ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस काम गर्न नसकेको तर विना योजनाको लकडाउनले अर्थतन्त्र चौपट भएको भट्टराईले बताए । ‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन,’ उनले भने ।







