
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालयमा पदपूर्ति र केही मन्त्री फेरवदल गर्नका लागि प्रयास गरेको एक महिना पुग्न लाग्यो ।
त्यसका लागि सत्तारुढ दल नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग प्राय दिन छलफल पनि गर्दै आएका छन् ।
अहिले उनीहरुको छलफल सरकारको प्रवक्ता समेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर रोकिएको स्रोतले बतायो । सरकारको प्रवक्तामा दुवै अध्यक्षले आफ्नो मान्छे राख्ने चाहना राखेकाले सहमति हुन नसकेको निकटस्थ स्रोतहरु बताउँछन् ।
सञ्चार सेक्युरिटी पिन्टिङ मेसिन खरिदमा विवादमा तानिएर गोकुल बाँस्कोटाले राजीनामा दिएपछि खाली छ । प्रधानमन्त्री ओलीले पुनः उनै बास्कोटालाई सञ्चारमा ल्याउन चाहेका छन् ।
तर, प्रचण्डले रिक्त रहेका सञ्चार, अर्थ र सहरी विकास मध्य अर्थ नपाउने भएपछि सञ्चार कुनै पनि हालतमा नछोड्ने रणनीति बनाएका छन् । प्रधानमन्त्री भने सरकारको प्रवक्ता आफ्नो विश्वासपात्र बनाउन चाहन्छन् । यसले समस्या बल्झिएको निकटस्थहरु बताउँछन् ।
सामान्यतया सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले विश्वासपात्र व्यक्तिलाई मात्र सञ्चार मन्त्रालयको जिम्मेवारी दिने चलन छ । तर, प्रचण्डले भने सञ्चार आफ्नो भागमा पार्ने र त्यहाँ जनार्दन शर्मालाई पठाउने निकटस्थहरुलाई बताउने गरेका छन् ।
शक्ति अभ्यास र विकासका हिसाबले कमजोर मन्त्रालय भएकाले शर्मा स्वयं भने त्यहाँ नजान पाए हुन्थ्यो भने मनस्थितिमा छन् । प्रचण्डले भने भावी दिनमा हुने टेन्डर, सञ्चारको लाइसेन्स वितरणमा मगन्य कमाउन सकिनेतर्फ समेत गराउँदै आएका छन् ।







