सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ।

‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भन्नुभयो।

‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताउनुभयो ।

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताउनुभयो ।

‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उहाँले भन्नुभयो ।

विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो । ‘अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आइसियु बेड पाउनेवाला छैनन्,’ उहाँले भन्नुभयो, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।’

उहाँले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताउनुभयो । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गर्नुभयो ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार