विश्लेषक मुमाराम खनालले नेपालको राजनीतिमा वैकल्पिक शक्ति भनिएका साझा र विवेकशील पार्टीहरु निर्वाचनपछि मरिसकेको दाबी गरेका छन् ।

केही समयअघि साझा पार्टी परित्याग गरेका खनालले वैकल्पिक भनिएका पार्टीहरुसँग कुनैं वैकल्पिक विचार र योजना नभएको बताए ।

रातोपाटी अनलाइनलाई प्रतिक्रिया गर्दै खनालले यस्तो बताएका हुन् । साझाबाट बाहिरिएका राजनीतिक विश्लेषक मुमाराम खनाल वैकल्पिक पार्टीलाई बुझ्ने सवालमै नेतृत्व असफल भएको दावी गर्छन् ।

‘साझा पार्टीले दुई लाख १२ हजार मत ल्याएर एउटा विश्वास दिलायो । निर्वाचनसम्म साझा पार्टीले काम ग-यो । निर्वाचन सकिएपछि साझा पार्टी भन्ने मरिसक्यो,’ उनी भन्छन्, ‘त्यसले कि त अर्को कोर्स लिएर जानुपथ्र्याे, विवेकशील जोडियो, फुट्यो । त्यो विवेकशील पनि हरायो । नाममा मात्र अस्तित्व रहेर हुँदैन । उसले बोकेको एजेण्डामा न कुनै बहस भयो, न त्यो एजेण्डा के हो भनेर त्यो पार्टीले थाहा पायो । युवा–युवा भन्ने विवेकशीललाई युवाको अबको गन्तव्य के हो भन्ने नै थाहा छैन ।’

सिरियस मान्छेलाई साझाले आकर्षण गर्न छाडेपछि पार्टी छाड्नेको लस्कर लागेको उनको भनाइ  छ । खनालले भने, ‘मुलुक परिवर्तन गर्ने भन्ने एउटा शब्द साझाले जान्यो । तर मुलुक परिवर्तन कसरी हुन्छ भन्ने कुरा त्यहाँभित्र भएन । त्यसैले सिरियस मान्छेलाई साझाले आकर्षण गर्न छाड्यो । त्यसपछि सिरियस मान्छेले साझा पार्टी छोडे ।’

उनका अनुसार साझासँग एउटा राजनीतिक पार्टीले मुलुक कसरी परिवर्तन गर्छ भन्ने कुनै सोच, योजना र रणनीति छैन । ‘यो मुलुक बिग्रियो, यो मुलुक परिवर्तन गर्नुपर्छ, पुरानाले सकेनन्’ भन्ने बाहेक साझा पार्टीको नेतृत्वसँग कुनै वाक्य नै नरहेको उनको भनाइ छ । साझा र विवेकशीलको राजनीति अन्ततः वाक्य र शब्दभन्दा माथि जान नसकेको खनाल बताउँछन् ।

‘चारवटा शब्दमा विवेकशील सकिन्छ, चारवटा वाक्यमा साझा सकिन्छ । विवेकशीलभन्दा साझा चार वटा वाक्यमा मात्र उन्नत छ,’ उनले भने, ‘यहाँ नेपाली राजनीतिमा चारवटा नयाँ ग्रन्थ चाहियो, नयाँ भाषा चाहियो, नयाँ बाटो चाहियो, पार्टी संगठनको नयाँ प्रारुप चाहियो । विचार, संगठन, संस्कृति यावत नीतिगत विकासबारे प्रतिक्रिया दिएरमात्र हुँदैन, त्यसको समाधानसम्म पुग्ने सिरियस मान्छे त्यहाँ भएन ।’

७० वर्षसम्म काँग्रेस र कम्युनिस्ट पार्टीले नेपाली जनतालाई पढाएको गलत स्कुलिङ चिर्नसक्ने ल्याकत साझा र विवेकशीलसँग नभएको खनालको बुझाइ छ । ‘७० वर्षसम्म काँग्रेस र कम्युनिस्ट पार्टीले राजजीतिमा लागेपछि पूर्णकालीन हुनुपर्छ, पार्टीलाई शक्तिशाली बनाउनुपर्छ, पार्टीलाई सत्तामा पु-याउनुपर्छ र सत्तामा पुगेपछि लुट्नुपर्छ भन्ने गलत स्कुलिङ पढाए,’ उनले भने, ‘एउटा राजनीतिक दल नराम्रो भयो भने अर्को पार्टीमा गएर पनि सहयोग गर्न सकिन्छ भन्ने स्कुलिङको विकास गरेको भए दलहरु डराउँथे ।’

पुराना पार्टीमा एउटा पार्टीमा लागेपछि स्थायी जागिर जस्तो त्यो पार्टी छोड्नु हुन्न, त्यही पार्टीलाई माध्यम बनाएर लुट्नुपर्छ भन्ने गलत स्कुलिङ भएको उनले प्रष्ट पारे । ‘यो गलत कुरालाई बदल्नुपर्छ भन्नेमा कुरामा आफूलाई वैकल्पिक भन्नेहरु पनि फरक हुन सकेनन्,’ उनी भन्छन्, ‘न साझा फरक भयो, न विवेकशील फरक भयो ।’

वैकल्पिक पार्टी भन्नेहरुले पनि ‘नियतात्मक बाटो’ रोजेको उनको भनाइ छ । साझा पार्टीको वर्तमान चित्र देखाउँदै उनले भने, ‘त्यो भनेको एउटा मान्छेलाई पार्टी चाहियो । उसले केही मान्छे जम्मा पारेर आफ्नो नेतृत्वमा पार्टी बनाउँछ । त्यो पार्टीमा आफू सधैँ एक नम्बरमा रहिरहन्छ,’ उनले भने, ‘अरु बाँकीलाई आउनुहोस् पार्टी बनाऊ, मेरो पार्टी बनाऊ भन्छ ।’

यो विधिलाई ‘डिटरमिनिस्टिक मेथड’ भनिने तर्क गर्दै खनाल भन्छन्, ‘डेमोक्रेटिक पार्टी त्यस्तो तरिकाबाट बन्दैन । जुन पार्टी डेमोक्रेटिक हुँदैन, त्यो पार्टी वैकल्पिक पनि हुन्न ।’

वैकल्पिक पार्टी प्राकृतिक ढंगले बन्ने उनको जिकिर छ । ‘तपाई र म बेरोजगार भयौँ । हाम्रो शिक्षाले हामीलाई रोजगारी दिएन भने तपाई र म मिलेर बोर्डिङखोजे जस्तो पार्टी बनाउने कुरा होइन । अहिलेका वैकल्पिक पार्टी भन्नेहरु डिटरमिनिस्टिक कै बाटोमा गए,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार