
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका बहुमत सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षर संकलन ब्युँताउने तयारी भएको छ ।
पूर्वमाओवादी समूहबाट मुख्यमन्त्री बनेका शाहीविरुद्धको अविश्वास प्रस्तावको नेतृत्व प्रधानमन्त्री ओलीनिकट सांसद कँडेलले गरेका छन् । शाहीविरुद्धको अविश्वास प्रस्तावमा वरिष्ठ नेता नेपाल समूहका सांसदहरूले पनि हस्ताक्षर गरेका छन् ।
कर्णाली प्रदेशको पछिल्लो विवादमा वरिष्ठ नेता नेपालनिकट नौ सांसद विभाजित भएका छन् । नेपालनिकट चन्द्रबहादुर शाहीलगायतले कँडेललाई साथ दिएका छन् भने प्रदेश सरकारमा दोस्रो वरीयतामा रहेका अर्थ तथा योजनामन्त्री ज्वाला भने मौन बसेका छन् ।
प्रदेश ५ को राजधानी र नामांकन तय गर्ने विषयमा पार्टी सचिवालयमा कुनै छलफल नभएकोमा वरिष्ठ नेता नेपाल असन्तुष्ट छन् । सोही कारण ओलीनिकट नेता कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भए पनि नेपालले अप्रत्यक्ष रूपमा साथ दिएका छन् ।
‘महत्वपूर्ण नीतिगत विषय र महत्वपूर्ण विधेयकबारे पार्टीमा छलफल हुनुपथ्र्यो, तर प्रदेश ५ को राजधानी तय गर्ने हकमा प्रदेश संसदीय दल र प्रदेश सभाको सार्वभौम अधिकार भन्दै पार्टीमा छलफलै नगरी दुई अध्यक्षको निर्देशनमा निर्णय गराइयो,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने, ‘कर्णाली प्रदेशमा अविश्वास प्रस्ताव भएपछि अब त्यसैगरी तल संसदीय दललाई छाड्ने काम हुन्छ कि हुँदैन ? कार्यकारी अध्यक्ष प्रचण्डले पनि अब परीक्षा दिनुपर्नेछ ।’
बागमती प्रदेशमा भने नेकपाकी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यकै समर्थनमा पूर्वमाओवादी समूह र वरिष्ठ नेता नेपाल समूहनिकट ४२ जना सांसदले साउनमै हस्ताक्षर गरिसकेका छन् ।







