
नेपालबाट राजसँस्था हटाउनकालागि भारतीय गुप्तचर संगठन ‘रअ’ले कसरी निर्णायक भूमिका खेलेको थियो भन्नेबारेमा त नेपाल र भारतमा धेरै लेखिइसकेको छ ।
साथै राजनीति र गुप्तचरीमा कुनै कुराको परहेज हुँदैन भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो – राष्ट्र प्रमुख र सरकार प्रमुख दुवैको भूमिकामा रहेका र २००७ सालपछिको नेपालको इतिहासका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जगत नेपालसँगको कान्तिपुर टेलिभिजनमा प्रकाशित अन्तर्वार्ता शृंखलामा उनको आत्मस्वीकृति ।
कोइरालाले भारतीय गुप्तचर संगठन ‘रअ’का प्रमुख रामेश्वरनाथ कावको अनुमोदनमा नै राष्ट्र बैंकको करीव ४० लाख रुपैयाँ बोकेर बिराटनगरबाट काठमाडौँ जाँदै गरेको तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरण गरेको कुरा स्वीकार गरेकाथिए ।
साथै उनले भारतमा निर्वाशित जीवन बिताइरहेका कार्यकर्ता पाल्न नक्कली नोट छापेको र त्यसमा स्वयम् वीपी कोइरालाको मन्जूरी रहेको समेत उल्लेख गरेकाथिए ।
त्यस्तो नक्कली भारतीय नोट छाप्ने कार्य स्वयम् भागलपुर विश्व विद्यालयका उपकुलपति र भारतीय राज्य सभाका सांसद रहिसकेका विख्यात भारतीय समाजवादी नेता र वीपीका निकट मित्र डा. देवेन्द्रप्रसाद सिंहको पटना स्थित निवाशमा हुन्थ्यो ।
त्यसरी छापिएका नक्कली नोट परीक्षणकालागि भारतीय बैंकमा जम्मागर्न लगियो, बैंकले नक्कली भनेर खुट्याउन सकेन र जम्मा गरियो ।
त्यसपछि त कुरै भएन ।
नेपाली राजनीतिमा एउटा अर्को अनपेक्षित सन्दर्भ छ – विश्वेश्वरप्रसाद कोइराला र राजा महेन्द्रले अमेरिकी गुप्तचर संगठन सिआइएसँग चुनाव खर्च लिएको खुलासा ।
सो सन्दर्भमा प्रवेश गर्नु अघि तत्कालीन क्षेत्रीय परिवेशको सङ्क्षिप्त चर्चा आवश्यक देखिन्छ । १९५० को दशकको अन्त्यतिर आइपुग्दा भारत र चीनवीचको विवाद उग्र चरित्र ग्रहण गर्दै थियो ।
सिआइएको गुप्त योजना र सहयोगमा भारत आइपुगेका र नेहरूले शरण दिएका दलाई लामाको कारण पनि चीन भारतप्रति क्रुद्ध थियो । भारत र चीनको सम्वन्धको उक्त स्तरमा नेपालमा भारत, चीन, सोभियत सङ्घ र अमेरिकाको चासो बढ्दै गएको थियो ।
उता भारतीय प्रधानमन्त्री नेहरू र उनका अत्यन्त विश्वासी रक्षामन्त्री भी.के. कृष्ण मेननको वामपन्थी राजनीतिक रुझानका कारण नेपाल जस्तो आफ्नो प्रभाव क्षेत्र अन्तर्गतको मुलुकमा अमेरिकाको उपस्थिति र प्रभावलाई नेहरू सरकारले प्रीतिकर मानिरहेको थिएन ।
नेहरूले नेपालमा अमेरिकालाई आफ्नो प्रतिद्वन्द्वी राष्ट्रको रूपमा हेर्ने गरेका थिए र अमेरिका र पश्चिमा राष्ट्रहरूसँग नेपालले सोझै सम्वन्ध विस्तार नगरेर आफू मार्फत गर्न राजा त्रिभुवन र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई बारम्बार पत्राचार गरेका थिए ।
आवरणमा नेपाल स्थित अमेरिकी दुतावाशमा एउटा सामान्य कर्मचारीको रूपमा सेवा प्रवेश गरेर माथिल्लो तहको अधिकारी सम्म हुनपुगेका डुवान आर. क्लारिजको एउटा चर्चित पुस्तक छ – अ स्पाई फर अल सिजन्स ।
उक्त पुस्तकको चौथो अध्यायमा “नेपाल : अपर्च्युनिटी क्रिएट्स दी म्यान” शीर्षक अन्तर्गत नेपाल सम्वन्धी रोचक वर्णन छ ।
सिआइएको मुख्यालयले उनलाई नेपालका राजनीतिक दलहरू, सेना, प्रहरी र राजाका क्रियाकलापहरू, सोभियत सङ् र चीनका नेपाल गतिविधिहरू र नेपालमा भारतका लक्षहरू र सिआइएले टाढा रहेर संचालन गरिरहेको तिब्बतको आन्तरिक विद्रोहका अवस्थाहरूबारे जानकारी सङ्कलन गर्न निर्देशन दिएको थियो ।
क्लारिजले पनि भारत अमेरिकालाई नेपालमा आफ्नो प्रतिद्वन्द्वी सम्झिरहेको लेखेका छन् । तर अमेरिकाको लक्ष भने नेपालको कमजोर सरकार र राज्य व्यवस्थामाथिको चीनियाँ दवाव विरूद्ध भारतको प्रभावलाई बलियो बनाउन सहयोग गर्नु थियो ।







