
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।
रिपोर्टर्स नेपालले विश्वस्त स्रोतबाट जानकारी पाए अनुसार सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो । सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ ।
प्रचण्ड र नेपालले आन्तरिक सहमति बनाएर वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुवै नेता ओलीप्रति असन्तुष्ट बन्दै आएका छन् । ओलीविरुद्ध गौतम आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ ।
गौतमले मन्त्रिमण्डल पुर्नगठन लगत्तै आफूलाई सरकारमा नलगिने निश्चित भएपछि २०७७ भित्रै केपी शर्मा ओलीलाई बालुवाटारबाट प्रधानमन्त्रीका रुपमा रहन नदिने निकटस्थसँग बताएको स्रोतले बतायो । मलाई पटक पटक धोका दिने अब म ओलीलाई प्रधानमन्त्री रहन दिन्न भन्दै गौतम ओलीइतरका नेताहरुमाझ कुर्लिएका थिए ।
यसअघि गौतमकै सहयोगमा ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । माधव नेपालले उक्त घटनालगत्तै गौतमसँग असन्तुष्टि पोख्दै आएका छन् । उनले पाँच सचिवालय सदस्यको आन्तरिक बैठकमा पनि वामदेव गौतमले छ बुँदेले ओलीको सत्ता जोगिएको बताएका थिए ।







