भारतीय ‘रअ’ गुप्तचर प्रमुख सामन्त कुमार गोयल काठमाडौं आउने दिन प्रधानमन्त्री ओलीमा विशेष सक्रियता देखिएको थियो । प्रधानमन्त्री बुधबार साँझसम्म सुरक्षा परिषदको बैठकमा व्यस्त बनेका थिए ।
सुरक्षापरिषदको बैठकपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका थिए ।
गोयलको यो भ्रमणबारे परराष्ट्र मन्त्रालय भने केही बताउन सक्ने अवस्थामा छैन । किनभने, यसको सबै तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको तहबाटै मिलाइएको छ ।
रअ प्रमुख सामन्तले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारे पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । केवल एयरफोर्समा आउने टोलीलाई अनुमति दिनमात्रै परराष्ट्रसँग अनुमति मागिएको तर, काठमाडौंमा हुने भेटघाटको अनुमति नमागिएको परराष्ट्रका कर्मचारी बताउँछन् ।
जबकि कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाटहरु गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न मिल्दैन । अनुमति लिएर भेट गर्दा पनि परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा राख्नुपर्छ । पूर्वप्रधानमन्त्रीहरुसँग भेट्दा पनि विदेशीले अनुमति लिनुपर्ने परराष्ट्र मन्त्रालयको आचारसंहितामा छ । तर, यतिबेला सो कूटनीतिक आचारसंहितालाई लत्याइएको छ । गोयलले काठमाडौंमा क–कसलाई भेटे भन्ने सरकारले खुलाएको छैन ।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डको सचिवालयले भने गोयलसँग भेटघाट नभएको बताएको छ ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कांग्रेस सभापति देउवासँग भेटघाटको सेड्युल नरहेको बताउँछन् । सुरक्षाको मामिलामा आएको हुन सक्ने भएकाले राजनीतिक भेटघाट नगरी प्रधानमन्त्रीलाई मात्र भेटेको हुन सक्ने शर्माको विश्लेषण छ ।
आफैंले कूटनीतिक उडानको अनुमति दिएको र यति चर्चा भइसकेको यस विषयमा जनतालाई यथार्थ जानकारी गराउने दायित्व सरकारको हो ।
नेपालले सीमासम्बन्धी वार्ताका लागि उच्च राजनीतिक र प्रशासनिक तहमा वार्ताको प्रस्ताव गरिरहेको समयमा खुफिया एजेन्सीका अधिकारीहरु भ्रमणमा आउनु र नेपालका नेताहरुसँग खुला रुपमा भेटघाट गर्नु सामान्य विषय होइन ।
नेपालले दुई देशका परराष्ट्र सचिव एवं परराष्ट्रमन्त्रीहरुको बैठक गर्न भनिरहेको छ, तर भारतले कोभिडको कारण देखाउँदै सम्भव नभएको बताउँदै आएको छ । भारतले अन्य छिमेकी देशहरुसँग भने कोभिडकै बेलामा वार्ताहरु गरिरहेको छ । नेपाललाई चाहिँ उसले उपेक्षा गर्दै आएको छ ।
तर, कोभिडको संक्रमण नै उच्च रहेको समयमा खुफिया एजेन्सीका व्यक्तिहरु काठमाडौं आएर सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गरेका छन् । यसले गर्दा कतै विगतमा जस्तै नेपाल मामिलामा खुफिया एजेन्सी हावी भएको त होइन भन्ने प्रश्न चिन्ह उत्पन्न भएको हो ।
केही वर्षयता नेपालमा खुफिया एजेन्सीको प्रभाव कम भएको थियो । तर, फेरि हामीले नै आमन्त्रण गरेर उनीहरुलाई ‘स्पेस’ दिन लागेका त होइनांै ? गोयलको भ्रमण यस्तो प्रश्न उब्जिएको छ ।
यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ?







