
बाजुरा कारागारमा रहेका विप्लव नेकपा निकट राजनीतिक आस्थाका राजबन्दीले दशैँ खर्च लिन अस्विकार गरेका छन् । राजनीतिक आस्थाका ११ राजबन्दीले राज्यले अपमानित गरेको भन्दै दशैँ खर्च लिन अस्वीकार गरेका हुन् ।
उनीहरुले राज्यले दशैं खर्च भन्दै टालटील पार्न ३ सय रुपैयाँ दिएर राजबन्दीहरुलाई आपमान गरेको बताएका छन् । राज्यले राजबन्दीलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरकाले दशैं खर्च नलिने निर्णय गरेको उनीहरुको भनाई छ ।
महंगी बढ्दै गएको र राज्यले दैनिक छुट्याएको दैनिक ६० रुपैया र ७०० सय ग्राम चामलले विहान बेलुकाको खाना र नास्ता पेटभरी खान नपुग्ने उनीहरुको भनाइ छ । राज्यले राजबन्दीहरुलाई राम्रो व्यवहार नगरेकाले दशैं बोनस कुनैपनि हालतमा नलिने उनीहरुले अडान लिएका छन् ।
बाजुरा कारागारमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्दीय सदस्य चुडामणि ओली ुआदर्शुसहित राजनीतिक आस्थाका ११ जना राजबन्दी रहेका छन् ।
क्षमता भन्दै दोब्बर राजबन्दी हुँदा समस्यै समस्या
बाजुरा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ ।
कारागारको कुल क्षमता २५ जना भए पनि हाल ५० भन्दा बढी कैदीबन्दि राखिएको राजबन्दीहरुले बताएका छन् ।
सुत्न, बस्न, हिँडडुलदेखि शौचालय जान पनि पालो कुरेर बस्र्नुपर्ने अवस्था रहेको उनिहरुको भनाइ छ । एकै ठाउँमा धेरै समय बस्नुपर्ने भएकाले कैदी बन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ ।
नाइकेको नाममा दादागिरि
आन्तरिक प्रसासनको नाममा नाइके राखेर बन्दिहरुमाथि दमन गरिरहेको कैदीबन्दिहरुले बताएका छन् ।
कारागारमा बनाइएको नाइकेले कैदीहरुमाथि अनावश्यक दमन गरेर आफुहरुको गम्भीर मानव अधिकार हनन भएको उनीहरुको भनाइ छ ।







