२०७७ कात्तिक ५ गते राति १० बजे भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको टोली प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रवेश गर्यो ।  त्यहाँ दुई घण्टाभन्दा बढी समय बिताएर भोलिपल्ट भारतीय गुप्तचरको टोली दिल्ली फर्कियो । दुई घण्टासम्म नेपालका प्रधानमन्त्री र रअका प्रमुखवीच के–के कुराकानी भए होला ? यसबारे विभिन्न किसिमका अडकलबाजी भइरहेका छन् ।

रअका प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेको विषयलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलिपल्ट औपचारिकरुपमा पुष्टि गरे । प्रधानमन्त्री ओली र सामन्तवीचको भेटबारे प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक भएको प्रेस नोटमा यत्ति भनिएको छ–

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल–भारतवीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।

(सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार, ६ कात्तिक २०७७)

भारतले नेपालको सीमा मिचेपछि सम्बन्ध चिसिएकै बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा त्यसरी गुप्तचर प्रमुखसँग भेट गर्नु कूटनीतिक मर्यादाविपरीत भएको परराष्ट्र मामिलाका जानकारहरुका साथै सरकारका विपक्षी र आलोचकहरुले मात्र होइन, स्वयं सत्तारुढ नेकपाकै प्रवक्ताले समेत बताइसकेका छन् । तर, प्रधानमन्त्री निकटस्थहरु चाहिँ यसलाई भारत–नेपालवीचको सम्बन्ध सुधारको सकारात्मक थालनीका रुपमा लिन्छन् ।

प्रधानमन्त्री ओलीले सत्तामा टिक्नका लागि आएर ‘जे पनि’ गर्न लागेका हुन् ? बाल ब्रह्मचारीले जस्तै बुढेसकालमा माताजीसँग ‘यसोउसो’ हुन लागेको हो ?
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामन्तको आगमनलाई भारतीय गुप्तचरका रुपमा नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भएको बताएका छन् । तर, गुप्तचर प्रमुखलाई प्रधानमन्त्रीले दूत बनाउने प्रचलन नरहेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

सामाजिक सञ्जाल र मिडियामा आएका प्रतिक्रियाहरु हेर्दा आम जनमानसमा प्रधानमन्त्री केपी ओलीको छवि जुन प्रकारको राष्ट्रवादी बनेको थियो, त्यसमाथि कात्तिक ५ गते राति एकाएक पर्दा खसेको भान हुन्छ । यो घटनालाई सत्तारुढ पार्टीकै नेताहरुले पचाउन सकेका छैनन् ।

सरकारमा रहँदा विकास र सुशासन दिन नसकेको भन्दै आलोचना खेप्नुपरे पनि प्रधानमन्त्री ओलीको पहिचानका रुपमा रहेको राष्ट्रवादको ‘भर्जिनिटी’ अहिलेसम्म तोडिएको थिएन । उनले चुनावमा आर्जन गरेको शक्ति पनि यही राष्ट्रवादी छवि नै थियो । र, प्रधानमन्त्रीमा रहँदा पनि उनलाई राष्ट्रवादी नायक र अरुलाई ‘भारतीय दलाल’ का रुपमा निकटस्थहरुले चित्रिता गर्दै आइरहेकै थिए ।

तर, कात्तिक ५ गतेको त्यो रात केपी ओलीको राजनीतिक जीवनमा ठूलो धक्काका रुपमा आइलागेको घटनाक्रमहरुलाई हेर्दा सहजै महसुस गर्न सकिन्छ ।

जसरी वृद्ध ब्रह्मचारीले बुढेसकालमा माताजीसँग लसपस गरेर आफ्नो जीवनभरको पहिचान गुमाए, त्यसैगरी प्रधानमन्त्री ओलीले जीवनको उत्तरार्थमा ‘रअ’सँग लसपस गरेर सफेद राष्ट्रवादमा दाग लगाएका त होइनन् ? यसको निश्पक्ष, पूर्वाग्रहरहित अनि सन्तुलित विश्लेषण/छानविन गर्ने जिम्मा आम मानिसहरुलाई नै छाडौं ।

भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेको कुरा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रेस नोटमार्फत जानकारी गराउनु सकारात्मक छ । तर, यो प्रेस नोट अधुरो एवं अमूर्त छ ।

भेटको तीन दिनपछि परराष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण पनि सकारात्मक नै भए पनि प्रष्ट छैन । हिजो नयाँ नक्सा जारी गर्दा सम्पूर्ण राजननीति दल र नेपाली जनताले सरकारलाई अभूतपूर्व साथ दिएको स्मरण गर्दै सरकारले यो भेटबारे जनतालाई यथार्थ सूचना दिनुपर्छ । अहिले संसद चलेको छैन, मोदीले दूतकै रुपमा सामन्तलाई बालुवाटार पठाएका हुन् भने पनि कालापानी लिपुलेकबारे भारतबाट के प्रस्ताव आयो ? जनताले यसको जानकारी पाउनुपर्छ । यो कुनै गोप्य राख्नुपर्ने गुप्तचरी वा सुरक्षा मामिला होइन, राजनीतिक मामिला हो । राष्ट्रिय स्वाभिमानको मामिला हो ।

बालुवाटारमा प्रधानमन्त्री ओली र सामन्तवीचको त्यो आधारातको गोप्य भेटका सन्दर्भमा उठेका गम्भीर प्रश्नबारे सरकारले जनतालाई जतिसक्दो चाँडो खुलस्त पार्दा उसको हित हुन्छ । अन्यथा, रहस्य जति लुकाइन्छ, त्यति नै प्रधानमन्त्री ओलीमाथि प्रश्न उठिरहने छ ।

अब यहाँ भारतीय गुप्तचर प्रमुख सामन्तको बालुवाटार प्रवेशले उब्जाएका केही प्रश्नबारे चर्चा गरौं । यी प्रश्नहरुको जवाफ समयमै आएन भने प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडान थप धुमिल बन्दै जाने देखिन्छ ।

अरुण बरालले गरेको विश्लेषणको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार