प्रधानमन्त्री केपी ओलीले अबको मन्त्रीपरिषद हेरफेरमा पनि प्रचण्ड–नेपाल समूहलाई बाईपास गरेर अगाडी बढ्ने संकेत गरिसकेका छन् ।

स्रोतका अनुसार दशैंलगत्तै पूर्व माओवादीका नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र प्रभु शाहलाई मन्त्री बनाउने आश्वासन गईसकेको छ । गजुरेल प्रचण्डका प्रिय नेता मानिन्थे भने रायमाझी र शाह माओवादी आन्दोलनभर डा.बाबुराम भट्टराई पक्ष भनेर चिनिन्थे ।

डा.भट्टराई माओवादीमा हुँदासम्म र माओवादीले सत्तामा अवसर पाउँदा रायमाझी र शाहले भट्टराईको मान्छे बनेरै पटक–पटक मन्त्री बन्‍ने अवसर पाएका थिए । रौतहटबाट प्रतिनिधित्व गर्ने प्रभु शाह मधेसमा पकड भएको नेता हुन् । उनलाई ओलीले आफ्नो पक्षमा तानेपछि वरिष्ठ नेता माधव नेपालको पनि गृह जिल्ला भएकोले रौतहटसहित तराईका अन्य जिल्लामा समेत ओलीको पकड हुने अनुमान गरिएको छ ।

सिन्धुलीका नेता गजुरेल र अर्घाखाँचीका रायमाझीलाई पनि तानेपछि प्रचण्डलाई थप कमजोर बनाउन सकिने विश्लेषण ओली पक्षको छ । यसअघि नै प्रचण्डका विश्वासपात्र ठानिएका केही नेता ओली समूहमा खुलेरै लागेका छन् । उद्योगमन्त्री लेखराज भट्टले त खुलेरै प्रचण्डसँग नरहेको सार्वजनिक रुपमै बोलिसकेका छन् ।

यता प्रचण्ड–नेपाल समूहले पनि दशैंलगत्तै प्रधानमन्त्री ओलीसँग वारपार गर्ने मनस्थिति बनाईसकेको छ । प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने वा पार्टी र प्रधानमन्त्री दुवैबाट हटाउन पार्टीको बैठक बोलाउने भन्‍ने छलफल प्रचण्ड–नेपाल समूहभित्र सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार