
पुराना चाडबाडलाई मनाउने तरिकालाई नवीकरण गर्नुपर्ने खाँचो उनले औंल्याए । उदाहरण दिँदै वैद्यले भने, ‘दसैँमा पहिला १५ दिन छुट्टी दिने चलन थियो, अहिले ५ दिनमा झ¥यो । दसैँको छुट्टी पाउँदा सबै रमाउँछन्, यो प्रस्ट छ । यसको अर्थ मानिसहरु विभिन्न पेसा, व्यवसायमा लागेका हुन्छन्, त्यो छुट्टीमा घरपरिवारमा जम्मा भएर भेट गर्न पाउँछन् ।’ दसैँको महत्त्वलाई बिदासँग जोडेर पनि हेर्नुपर्ने उनको भनाइ छ ।
यस्तो अवस्थामा हिजो दानवमाथिको विजय भनेर मनाइँदै आएको दसैँलाई नवीकरण गरेर आजको सन्दर्भसँग जोडेर मनाउन सकिने उनी बताउँछन् । ‘देश र जनताको निम्ति जनताले विभिन्न संघर्षहरु गर्दै आएका छन्, त्यसक्रममा थुप्रै सहिदहरु भए,’ उनले भने, ‘हो, अब यी सहिदहरुको सम्मानमा बिदा दिनुपर्छ । नेपाली जनताले परिवर्तनका लागि गरेको संघर्षका क्रममा कहाँकहाँ विजय प्राप्त गरे वा पराजय भए ? कहाँ कहाँ संघर्षका झण्डाहरु उठाए र त्यसमा सहिदहरुको कस्तो महत्त्व रह्यो भन्ने अर्थमा नवीकरण गर्न सकिन्छ ।’
दसैँका अवसरमा ५ दिन दिइने बिदालाई सहिद दिवसका बेला दिए पनि हुने उनको भनाइ छ । ‘बिदा यही बेला दिनुपर्छ भन्ने जरुरत छैन । ठिकै छ, यदि यही बेलामा दिने हो भने पनि यसलाई सहिद दिवसका रुपमा मनाउँ,’ उनले भने ।
यस क्रममा परम्परागत मान्यताका साथ दसैँ मनाउनेको भावनामा चोट लगाउनु नहुने उनले बताए । ‘कतिले दसैँ भनेर मनाउलान्, कतिले सहिद दिवस भनेर,’ उनले भने, ‘सरकारले पुरानो मान्यतालाई मात्रै किन समात्ने ? कम्युनिस्ट भनेर सरकारमा बस्ने अनि सबै कुरा पुरानै हुने ? सरकारमा पुगेको त कम्युनिस्ट नै भएर हो नि ! कि त पुरानै मान्यताअनुसार जानुप¥यो । परिवर्तनको कुरा मान्नै भएन ।’
त्यो बेलामा रामचन्द्रले रावणमाथि विजय प्राप्त गरे दसैँ मजाउन थालियो भने अहिले गंगालाल, दशरथ चन्दलगायतका थुप्रै सहिदको सामाजिक महत्वलाई मान्यता दिने गरी परिमार्जन गर्न सकिने उनले बताए ।
वैद्यका अनुसार धार्मिक मामिलाका बारेमा पार्टीको प्रश्न एकातिर हुन्छ भने दोस्रोमा राज्यसत्ता र सिंगो समाजको प्रश्न रहन्छ । यी दुईवटा विषयलाई गाँजेमाजे गर्न नहुने उनले बताए । ‘पार्टीसँग सम्बन्धित कुरामा जब द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई मानिन्छ भने दसैँमात्रै नभइ सबै धार्मिक क्रियाकलाप, संस्कारहरुलाई रुपान्तरण गर्न द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद अनुसार जानुपर्यो भन्ने हो,’ उनले भने, ‘खासगरी कम्युनिस्ट पार्टी र तिनका सदस्यहरुका लागि भनिएको हो यो । त्यसका लागि बहस छलफल गरेर जानुपर्ने र एउटा मान्यता बनाउनुपर्ने हुन्छ ।’
यसअघि पार्टीमा यस्ता विषयमा बहस, छलफल भए पनि निश्कर्ष निकाल्न नसकिएको उनले बताए ।
यसैगरी समाज र सिंगो राज्यको कुरा गर्दा राज्यले धार्मिक मामिलामा हस्तक्षेप गर्नु नहुने उनी बताउँछन् । ‘तर राज्यसत्ताले कसको हित गर्छ भन्ने कुरा पनि बहसकै कुरा छ । राज्यले दसैँ किन मान्दै आएको छ त ?,’ उनले भने, ‘कति जनसंख्याले मान्छ भन्ने कुरा पनि बहसका क्रममा उठ्छ । त्यसमा जनजातिसहित दसैँ नमाउने पनि छन् । यस्तो अवस्थामा बहस चलाउने काम हामी कम्युनिस्टहरुले नै गर्ने हो ।’
राज्यले समाजमा हस्तक्षेप नगरी यस्ता विषयलाई रुपान्तरणको प्रक्रियामा लैजानुपर्ने उनको भनाइ छ ।
कम्युनिस्ट सरकारले धानेको परम्परा
त्यसो त, अहिले कम्युनिस्ट पार्टीकै नेतृत्वमा सुविधाजनक बहुमतसहितको सरकार छ । यस वर्ष कोरोना महामारीका कारण राष्ट्र, प्रधानमन्त्री लगायतले सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम रद्द गरेका छन् । विगतका वर्षमा भने राष्ट्रपति, प्रधानमन्त्रीबाट टीका लगाइदिने चलन थियो । कम्युनिस्ट पार्टीका नेता राष्ट्रपति र प्रधानमन्त्री हुँदा पनि यस्तो अभ्यास हुनुलाई वैद्य अनौठो मान्दैनन् । उनका विचारमा नेपालमा वास्तविक गणतन्त्र नै आएको छैन ।
‘राजतन्त्र हटेर गणतन्त्र आयो भन्दैमा क्रान्ति भयो भन्ने होइन,’ उनले भने, ‘एउटा परिवर्तनमात्रै हो । सहिद सप्ताह मनाउन किन छुट्टी दिइँदैन त ? भनेपछि यो राज्यसत्ताले त पुरानै परम्परा र संस्कार मानिरहेको छ । गणतन्त्र आयो भन्नेमात्रै हो अरु सबै पुरानै छ ।’
गणतन्त्र धेरै प्रकारका हुने उल्लेख गर्दै वैद्य भन्छन्, ‘हाम्रोमा आएको गणतन्त्र पुरानै प्रकारको हो, नयाँ होइन । हामीले नयाँ गणतन्त्र भनेका हौँ । तर यहाँ त एउटा राजा हटे, उनको ठाउँमा धेरै राजा बनेर देखिए ।’
उनी अहिलेको सरकारलाई ‘कम्युनिस्ट सरकार’ नै मान्दैनन् । ‘भन्नलाई यो सरकारले राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेको छ । तर आर्थिक क्रान्ति कसरी र कुन नीतिका आधारमा गर्ने भन्ने स्पस्ट छैन,’ उनले भने, ‘कम्युनिस्ट सरकार भनेपछि कम्युनिस्ट नीति र दृष्टिकोणबाट गर्नुपर्ने हो नि । तर नवउदारवादलाई सिरानी हालेर समाजवादमा जाने कुरा सरकारले गरेको छ । यो हुनसक्ने कुरा होइन ।’
सरकारले आर्थिक क्रान्ति ल्याउने भनिरहे पनि नवउदारवादतर्फ उन्मुख भएको उनी बताउँछन् । ‘यो त कम्युनिस्टहरुमा बढ्दै गएको सुधारवाद हो,’ उनले भने, ‘यसलाई विचलनभन्दा पनि हुन्छ ।’
रातोपाटीसँग गरिएको कुराकानीको छोटो अंश ।







