सत्ताधारी नेकपाभित्र सत्ताको रडाको पटकपटक मच्चिइसकेको छ । गत फागुनमा सरकार गठनको दुई वर्ष पुगेपछि एकातिर अविश्वासको प्रस्ताव राख्न पाइने संवैधानिक ढोका खुल्यो भने अर्कोतिर पार्टीभित्रको विरोधी खेमासँग विपक्षी दलका नेताहरूको भेटघाट बाक्लियो ।

तर यसबीचमा प्रधानमन्त्री ओली लामो समय उपचारका लागि अस्पताल बस्नुपर्‍यो । त्यसलगत्तै कोरोना भाइरसको महामारीले विरोधी खेमालाई सत्तामा धावा बोल्न झनै अप्ठेरो भयो । यसरी फागुनमै चैते हुरीझैँ आउन लागेको सत्ता संकट ओलीको अस्पताल बसाइँसँगै टरेको थियो ।

तर विरोधीहरुका चलखेलका कारण ओलीमा असुरक्षाभाव बढ्दै गयो । प्रधानमन्त्री ओलीले भने महामारीका कारण उत्पन्न संकटलाई अवसरका रुपमा उपयोग गर्न खोजे, जुन प्रत्युत्पादक बन्यो । दल फुटाउन सहज हुने र संवैधानिक परिषदमा एकलौटी गर्न मिल्ने अध्यादेश चार दिनमै फिर्ता लिनुपर्‍यो ।

विरोधी मोर्चालाई कमजोर तुल्याउन प्रधानमन्त्री ओलीले अर्को पासा फ्याँके, वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्तावका रुपमा । नभन्दै गौतम ओलीप्रति नरम बने । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले बोलाएको विरोधी गुुटको भेलामा पनि गएनन् । संस्थापन बलियो हुने संकेत पाएपछि महासचिव विष्णु पौडेल पनि ओलीतिरै ढल्किए । पूर्वमाओवादी खेमाबाट गृहमन्त्री बनेका रामबहादुर थापाले सुरुदेखि नै ओलीलाई साथ दिँदै आएका थिए । यसले ओलीलाई नसोचेको राहत दियो भने दाहाल९नेपाल खेमालाई नसोचेको धक्का पुग्यो ।

अध्यादेश प्रकरणपछि प्रधानसेनापतिदेखि प्रधानन्यायाधीश, सभामुख र राष्ट्रपतिसँग तारन्तार भेट गरेर प्रधानमन्त्री ओलीले के गर्दै छन् भन्ने कौतुहल बढाएका थिए । तर पार्टीभित्रैको विरोधी खेमाले ओली कुन चाल चल्दै छन् भन्ने भेउ नै पाउन सकेन । ओलीलाई सके पार्टी र सरकारको नेतृत्व दुवैबाट, नभए प्रधानमन्त्रीबाट हटाइ छाड्ने सचिवालयका बहुमत सदस्यको भैँसेपाटी भेलाको निष्कर्ष थियो । त्यसको सन्देश बालुवाटार पुर्‍याउने जिम्मा गौतमलाई नै दिइएको थियो ।

गौतमले त्यो सन्देश कुन रुपमा सुनाए भन्ने बाहिर आइसकेको छैन । तर उनले संस्थापन र विरोधी पक्ष दुवैतिर ठीक्क हुने गरी हस्तलिखित विज्ञप्ति सार्वजनिक गरेका थिए । अहिले हेर्दा गौतमसँग शक्ति साझेदारीको मोलमोलाइ त्यही भेटबाट सुरु भएको आकलन गर्न सकिन्छ । हुन पनि गौतमसँगको भेटपछि पनि ओली नगलेपछि आराम गर्न सुझाव दिन दाहाल आफै बालुवाटार पुगेका थिए । तर त्यसपछि पनि ओली टसमस भएनन् ।

त्यसपछिका घटनाक्रम यसरी विकसित भए कि भैँसेपाटी भेलाका ६ सचिवालय सदस्यमध्ये दुईजना ओली खेमामा पुगे । त्यति मात्रै होइन, कतिपय दाहालकै विश्वासपात्रहरु समेत पार्टी जोगाउन भन्दै ओलीको पक्षमा वकालत गर्न पुगे । हुन त दुवै पक्षले सांसदहरुको हस्ताक्षर संकलन गरी अंकगणितको खेलका लागि समेत तयार नपारेका होइनन् । तर शीर्ष तहमै भएको पद मिलान र अहंको व्यवस्थापनले तत्काल नेकपाभित्रको तत्कालीन संकट टरेको थियो ।

तर शीर्ष नेताहरु राष्ट्रिय संकट समाधानमा केन्द्रित हुन सकेनन् फेरि पनि राजनीतिक उट्पट्याङमै समय खर्च गर्न पुगे । सचिवालयको विवाद अझ फराकिलो मञ्च स्थायी समितिमा सर्यो । यसबीचमा सबैले सबैका खुट्टी थाहा पाइसकेका थिए । पार्टी फुटको डिलमै पुग्यो । तर पार्टी फुुटाउने नै अवस्थामा दाहालसँग आफ्ना पूर्वसहकर्मी समेत नरहने भए । माधव नेपालको तुुष साँध्ने हतियार मात्र बनेको थाहा पाएपछि दाहाल ओलीसँग व्यक्तिगत मोलमोलाइ गर्न थाले ।

यतिखेर दाहालको कुरा ओली खेमाका दोस्रो पुस्ताका नेताहरुसँग मिल्न थालेको छ । चाँडै महाधिवेशन गर्ने र दाहाललाई सहमतिमा नेकपाको एकल नेतृत्व हस्तान्तरण गर्नेमा उनीहरु करिब सहमतिमा पुगिसकेका छन् । दाहालले पनि ओली खेमाका दोस्रो पुस्ताका नेतालाई विश्वासमा लिने र प्रभावशाली भूमिका दिने कुरामा सहमति जनाएका छन् ।

एकता महाधिवेशनका नाममा ओली र दाहाल चोचोमोचो मिलाउने, नेतृत्व बाँडीचुँडी गर्ने भएपछि यतिखेर नेपाललाई औडाहा भएको छ । तर जब दाहाल र ओली मिल्छन्, नेपालको औडाहाले कुनै काम नगर्ने कुरा पार्टी एकतादेखि अहिलेसम्मका धेरैवटा मोडमा प्रमाणित भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार