
कर्णाली प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुटता झाँगिएको छ । र, बोलचालसमेत बन्द हुने तहमा पुगेको छ । प्रचण्ड–ओली मिलाउने मध्यस्थहरूको प्रयास विफल भएपछि प्रधानमन्त्रीले वरिष्ठ नेता माधवकुमार नेपालसँग तेस्रोपटक सहकार्यको हात फिँजाएका छन् ।
बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले माधव नेपाललाई टीकाको भोलिपल्ट मङ्गलबार बालुवाटारको निम्तो दिएका थिए । “प्रधानमन्त्रीले नेता नेपाललाई भेटका लागि बोलाउनुभएको थियो,” दुई नेताबीचको भेटवार्ताबारे स्रोतले पुष्टि गर्यो, “उहाँहरूबीच मङ्गलबार त्यस्तै एकघण्टा कुराकानी भयो ।”
ओलीनिकट स्रोतले दिएको जानकारी अनुसार नेता नेपाल मध्याह्न १२ बजेतिर बालुवाटार प्रवेश गरेका थिए । ओलीले नेता नेपाललाई ‘आउनुस् मिलेर अघि बढौं । सहकार्य गरौं’ भनेर प्रस्ताव गरेको स्रोतको जिकिर छ ।
नेता नेपाल पुरानै अडानमा यथावत् रहेको स्रोतले भन्यो । “नेता नेपालले प्रधानमन्त्री ओलीले विधि, पद्धति माने, कार्यशैली सच्याए सहकारी हुन्छ भनेर जवाफ दिनुभयो,” नेपालनिकट एक नेताले भने ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच एक साताको अन्तरालमा भेट भएको हो । ४ कात्तिकमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि आग्रह गरेका थिए । ओलीको कार्यशैलीबारे सुरुदेखि नै चित्त दुखाउँदै आएका नेता नेपालले प्रधानमन्त्रीले दम्भ, अहङ्कार त्यागे सहकार्य हुन सक्ने बताएका थिए ।
यसपटकको भेटमा पनि त्यही जवाफ फर्काएको स्रोत बताउँछ । ४ कात्तिक अघि ओली–नेपालबीच ९ साउनमा मात्रै भेट भएको थियो । त्यसयता भने दुई नेता संवादहीनताको अवस्थामा थिए ।







