
नेपाल–चीनवीचको सम्बन्धलाई अझ अगाडि बढाउन के–के अवरोध छन् ?
लामो समयदेखि केही मुलुकले नेपाललाई उनीहरुको प्रभाव क्षेत्रका रुपमा लिए र उनीहरुले नेपाल र चीनको सामान्य दुईपक्षीय सम्बन्ध र बेल्ट एण्ड रोड इनिसिएटिभलाई संशयका रुपमा हेरिरहेका छन् । यसले चीन–नेपाल सम्बन्धको विकासमा गम्भीर बाधा पारिरहेको छ ।
नेपाल र चीनको बीचमा बीआरआई परियोजनामा एकदमै कम प्रगति भइरहेको छ, किन होला ?
बीआरआई परियोजना सहयोगभन्दा पनि सहकार्य हो । तर, केही नेपालीहरु यसले अधिक मात्रामा आर्थिकरुपमा चीनप्रति निर्भरता बढाउने र चिनियाँ अर्थतन्त्रको भासल हुने चिन्ता व्यक्त गरिरहेका छन् ।
एकातर्फ, उनीहरु देशको आर्थिक विकासका लागि बीआरआई परियोजनालाई उपयोग गर्न चाहान्छन् अर्काेतर्फ चीनलाई ब्यालेन्स गर्ने उद्देश्य प्राप्तिका लागि उनीहरु अन्य मुलुकबाट बढी आर्थिक सहायता र लगानी चाहन्छन् । यसले गर्दा चीन र नेपालका वीचमा सहकार्यको जति सम्भावना छ, त्यो पूर्ण रुपमा विकसित हुन सकेको छैन ।
चीनको आर्थिक बिकासबाट नेपालले अधिकतम फाइदा कसरी लिन सक्छ ?
पहिलो, दुबै मुलुकले उच्च तहको आदान प्रदानलाई अझ वृद्धि गर्नुपर्छ, पारस्परिक राजनीतिक विश्वासलाई वृद्धि गर्नुपर्छ र शासन, विकासलगायतका अनुभवहरु शेयर गर्नुपर्छ, नेपाल र चीन सम्बन्धको राजनीतिक आधारशीलालाई सुदृढ बनाउनुपर्छ र दुई पक्षीय सम्बन्धको राजनीतिक पोजिसनलाई सुदृढ गर्नुपर्छ ।
दोस्रो, दुबै पक्षले सक्रियतापूर्वक ट्रान्स हिमालयन इन्टर कनेक्सन नेटवर्कको निर्माणलाई प्रवद्र्धन गर्नुपर्छ । साथै, व्यवहारिक सहकार्य वृद्धि एवं व्यापार र लगानीमा फोकस गर्नुपर्छ । उर्जा, पर्यटन र महामारी विरुद्धको लडाइँमा सहकार्य गर्नुपर्छ ।
तेस्रो, दुवै पक्षले सांस्कृतिक आदान–प्रदान र चीन–नेपाल मित्रताको ठोस आधारशिला र जनमत तयार पार्नुपर्छ ।
हालै अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारत लगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेका छन् र उनले चाइना थ्रेटको कुरा गरेका छन्, यसलाई चीनले कसरी हेरिरहेको छ ?
बेल्ट एण्ड रोड परियोजना कुनै विचारसँग जोडिएको छैन । न त यसको उद्देश्य अन्य मुलुकमा चीनको प्रभाव क्षेत्र बनाउनु नै हो । यसको मुख्य जोड वीन–वीन सहकार्य नै हो । चीनले जहिले पनि भन्दै आएको छ कि कुनै पनि दुई मुलुकको सम्बन्धको विकास क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि उपयुक्त हुनुपर्छ र यसले कुनै पनि तेस्रो पक्षको बैधानिक अधिकार र चासोलाई हनन् गर्नु हुँदैन ।
अमेरिकी विदेशमन्त्रीले हालै चीनलाई गरेको आक्रमणले पुनः एकपटक शीतयुद्धकालीन मानसिकता र वैचारिक पूर्वाग्रहलाई उजागर गरेको छ । उनको उद्देश्य दक्षिण एसियाली मुलुक र चीनको सम्बन्धलाई ‘प्रोभोक’ गर्नु (भड्काउनु), हिन्द प्रशान्त क्षेत्रमा चीनविरोधी रणनीतिक घेराबन्दीको विकास गर्नु र अन्तिममा चीनको विकासलाई रोक्नु हो ।
प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् ।
नेपालका राजनीतिक दलहरुका बारेमा अनुसन्धान गरिरहेका प्रोफेसर युआन छुनसँग यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरका कमलदेव भट्टराईले गरेको कुराकानीको सम्पादित अंश ।







