सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् ।

आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए । “प्रधानमन्त्रीले हिजोदेखि अब अलगअलग जाने हो भन्न थाल्नुभएछ,” ती सदस्य  भने, “हिजो दुई अध्यक्षको भेटमा पनि भन्नुभएछ । आज बिहान टेलिफोनमा पनि त्यही भन्नुभएछ ।”

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तिक्ततामा परिणत भएको प्रचण्डले ब्रिफिङ गरेका थिए । “पार्टी कमिटीको तीन चौथाइले निर्णय गरे पनि म मान्दिनँ भनेर जवाफ दिनुभएछ,” एक सचिवालय सदस्यले भने, “बैठकको उपादेयता छैन, निर्णय सबै मान्नुपर्छ भन्ने पनि छैन, पार्टी अब अलगअलग जाने हो भनेर प्रधानमन्त्री ओलीले कुरा राखेपछि तिक्तता झनै बढेछ ।

बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार