
म सहिदको छोरा हुँ
म सहिदको छोरी पनि हुनसक्छु
तिमीले मेरो पार्टीभित्रका सबै खाता
आफ्नै छोराछोरीको नाममा नामसारी गरिदिए पनि
मार्क जुकरवर्गले मुहार पुस्तिकामा
मलाई एउटा खाता खोल्न दिएको छ
त्यही मुहार पुस्तिकामा तिम्रा
तिम्रा सन्तानहरुका
र तिम्रा गुणगानहरुका
बग्रेल्ती खाता छन् ।
आजभोलि तिम्रो रजगज छ
मलाई देश निकाला गर्ने तिम्रो आदेश छ
तर पनि जुकरबर्गले
तिम्रो हाम्रो भेट गराइदिन्छ त्यही मुहार पुस्तिकामा ।
त्यही मुहार पुस्तिकामा
तिम्रा दरबारजस्ता गुँडहरुले मलाई डस्छन्
तिम्रा बचेराका ठुँडहरुले मलाई डस्छन्
तिम्रो मुहारपुस्तिकाले मलाई डस्छ ।
तिम्रो मुहार पुस्तिकामा
तिम्रो एउटा तस्विर छ
अझ भनौं तिम्रा बग्रेल्ती तस्विर छन्
जहाँ तिम्रो पुरानो सर्ट लिलामीमा छ
जहाँ तिम्रो फाटेको पाइन्टको मोलतोल भइरहेछ
जहाँ तिम्रो पायल चप्पल गयल छ
त्यहाँ हाजिर छन् त भित्तैभरि
तिमीले पैरेका सुट र टाइ छन्
भित्तै भरि सुट र टाइको जन्ती छ
तिम्रो मुहारमा हेर न कस्तो कान्ति छ
तिम्रो मुहार पुस्तिकामा हेर न
कस्तो आर्थिक क्रान्ति छ
मेरो बुबाको छातीमा गोली ठोकिँदा
बगेको रगत जस्तै रातो छ तिम्रो गाला
अनि छ, तिम्रो मुहार पुस्तिकामा
ती स्याउजस्ता गालाहरुको कुम्भमेला
जब म ती स्याउजस्ता गालाहरुको भेला देख्छु
म जवानीमै चाउरेका मेरा गाला छाम्न पुग्छु
मेरा सहिद बाका रगतले लछप्पै भिजेका गाला सम्झिन्छु
मेरी विधवा आमाका आँशु टल्किरहेका
गाला मेरो अगाडि नाच्न थाल्छन्
हो आजकल
मुहार पुस्तिकाका तिम्रा र तिमीजस्ता मुहारहरुले मलाई डस्छन्।
हिजो विजयादशमी थियो
तिमीले आफ्नो विजयउत्सव मनाएछौ
मेरो पराजयको नवमीमा
तिमीले फेरि एउटा खसी छ्याप्पै ढालेछौ
मैले मुहारपुस्तिकामा देखेँ
अनि कसैले तल लेखिदिएछ–
तिमी र तिम्रो खानदानजस्तो
उदाहरणीय कोही छैन ।
तिमी र तिम्रो बथानजस्तो
आदरणीय कोही छैन ।
हो पनि,
कस्तो शाही परिवारको जस्तो पोशाक
अनि कस्तो हाम्रा पुराना राजाकै जस्तो टाँठबाँठ
कस्ता रातै टल्केका अक्षता
कस्ता हलक्क परेका पहेंलपुर जमारा
सहिदको रगतमा अक्षता मुछेर
आफ्ना सन्तानको निधार सजाउन सक्ने
विधवाको आँशुमा जमारा उमारेर
आफ्ना सन्तानका शीरमा सिउरिन सक्ने
हो तिमीजस्तो उदाहरणीय कोही छैन
रहेलपहेल अक्षता र जमराले
गुणगानहरुलाई रिझाउन सक्ने
तिमीजस्तो आदरणीय कोही छैन ।
एउटा सहिदको छोराको खाता
आफ्नै सन्तानको नाममा सार्नसक्ने
तिमीजस्तो
प्रकरण इतिहासमै भेटिँदैन ।
हो आजकल
तिम्रो मुहारपुस्तिकामा
अक्षता र जमराको जुलुस छ
अनि जब म ती अक्षतामा
मेरा सहिद बाको रगतको रंग देख्छु
अनि जब ती जमरामा
मेरी विधवा आमाको आँशुको गन्ध भेट्छु
मलाई मुहार पुस्तिकाले डस्छ ।
तिम्रा दरबारजस्ता गुँडहरुले मलाई डस्छन्
तिम्रा बचेराका ठुँडहरुले मलाई डस्छन्
तिम्रो मुहारपुस्तिकाले मलाई डस्छ ।
…………………………
१ नोभेम्बर २०२०
काठमाडौं







