
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नसचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन्।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए।
उपप्रधानमन्त्री समेत रहेका उनले सोमबार साँझ कुरा गर्दै अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए।
उनले भने, ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ। दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ-आफ्नो विश्वासिला साथिहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ। अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसन सम्म पुर्याउने कुरा गरेत हुन्थ्यो।’
पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्नेपनि उनले बताए। पार्टी एकता गर्दाखेरिको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए।
उनले भने, ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडि बढ्नुपर्यो। यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।’
अहिलेपनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए। उनले भने, ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथीहरुसँत सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन। त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्याउँछ।’
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताए। यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए।







