
सत्ताधारी नेकपाभित्र पार्टी सचिवालय हुँदै आवश्यक परे स्थायी कमिटी र केन्द्रीय कमिटी डाकेर केपी ओलीबारे कडा निर्णय लिने तयारी भएको बुझिएको छ ।
आफूलाई पार्टी बैठक डाकेर सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय गर्न खोजिएको सूचना पाएपछि ओलीले बैठक नडाक्ने र डाकेमा फुटको घोषणा मानिने चेतावनी दिएका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी विगतमा भएपनि सफल भएको थिएन । यसपटक भने प्रचण्ड र माधवकुमार नेपाल एकतावद्ध भएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव सम्म ल्याउने तयारी गरेका छन् । स्वयंले ओलीले बिहिबार बसेको मन्त्रिपरिषद् बैठकबाट यसको जानकारी पाएको र सामना गर्न तयार भइसकेको खुलाएका थिए । बुधबार ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने र आफू हटेमा देश बर्बाद हुने अभिव्यत्ति दिएका थिए ।
यसरी ओलीले बरु नेकपा फुटको जोखिम मोल्ने तर प्रधानमन्त्री पद नछाड्ने सन्देश दिएका छन् । उनले प्रचण्डले आ आफ्नो बाटो लागौं भन्नुको अर्थ यही हो । नेकपा अब एक हुननसक्ने निष्कर्षमा ओली पक्ष पुगिसकेको बुझिएको छ । ओलीनिकटस्थ सचिवालय सदस्यहरु इश्वर पोखरेल र विष्णु पौडेलले पनि विभाजनको खतराबारे सामाजिक सञ्जालमा लेखिसकेका छन् ।
नेकपाभित्र ओली हटाउने प्रयास भए विभाजनसम्मको तयारी यसअघि नै भइसकेको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता छ । ओलीले कुनैपनि बेला नेकपा एमाले ब्युँताउने संकेत विगतमा नै गरिसकेका छन् । उनले यसअघि पनि पार्टी विभाजन सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइसकेका छन् । उक्त अध्यादेश पछि फिर्ता गरिएको थियो । नेकपाभित्र ओली हटाउन खोजिए फेरि अध्यादेश आउनसक्ने सम्भावना रहेको छ । यसकारण पनि नेकपा फुटको संघारमा पुगेको छ ।
अब नेकपामा कस्ले पहिलो कदम चाल्ने भन्नेमात्र बाँकी रहेको छ । फुट रोक्न नसकिने अवस्थामा पुगिसकेको छ । सर्वप्रथम प्रचण्डले पार्टी बैठक डाकेर ओलीबारे निर्णय लिने सम्भावना छ । त्यस अगावै ओलीले पनि निर्णय लिएर अध्यादेश ल्याएर कदम चाल्ने सम्भावना छ । त्यस्तो अवस्थामा माधवकुमार नेपाल र झलनाथ खनालका अलावा वामदेव गौतमले लिने निर्णय महत्वपूर्ण हुनसक्छ ।







