
तपाईंको बुझाइमा यस्तो किन भएको हो त ?
प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्ष भएर जसरी पार्टी चलाउनुभयो अहिले पनि नेकपा त्यसैगरी चलाउन खोज्नुभएको छ भने प्रचण्ड पूर्वमाओवादी केन्द्र चलाएजसरी नै चलाउन खोज्नुहुन्छ । नयाँ पार्टी भइसकेपछि पनि आआफ्नै पुरानै तरिकाले चलाउन खोज्दा समस्या भएको हो । नयाँ तरिका खोजेर अघि बढ्नुपर्नेमा पुरानै ढाचा र ढर्रामा हिँड्न खोज्दा समस्याको गाँठो कसिँदै गएको हो । यसरी मिलन विन्दुको पहिचान पनि हुँदैन ।
अघिल्लो पटक केपी शर्मा ओलीले अध्यादेश ल्याउनुभयो । अध्यादेशले पार्टीलाई फुटमा लैजान्छ, अस्थिरता निम्त्याउँछ भनेर पार्टीमा हामीले त्यसको विरोध गर्यौँ । प्रतिवाद गर्यौँ । मैले त्यसको अग्रपङ्क्तिमा रहेर नै विरोध गरेँ । सबैको विरोधपछि उहाँले फिर्ता लिनुभयो । दोस्रो पटक अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने भनेर आउनुभयो । त्यसबेला त्यसो गर्नुहुन्न यसले पार्टी फुटमा लैजान्छ बरु दुईमध्ये एक छोड्नुस्, एक रोज्नुस् भनिदिएको भए सबैलाई ठीक पनि लाग्न सक्थ्यो ।
राष्ट्रियताको मुद्दा उठाएर देश एक ढिक्का भइरहेको अवस्थामा दुवै पद छोड्नुस् भन्दा राम्रो सन्देश जाँदैन भनेर त्यो कुरालाई हामीले साथ दिन सकेनौँ । कारबाही गर्ने र हटाउने कुराले पार्टी विभाजनतिर लान्छ भनेर त्यसलाई पनि रोकियो । र, पछिल्लो समय कार्यदल बन्यो । कार्यदलको रिपोर्ट अनुसार सचिवालय र स्थायी समितिले निर्णय गर्दै नयाँ सिराबाट पार्टी एकताबद्ध भयो । त्यो पछि उहाँहरूका बाध्यता, जटिलता, समस्या होलान्, भित्र केके बहस भएका होलान त्यो अर्को कुरा हो तर बाहिर प्रधानमन्त्रीले मन्त्री राजदूत नियुक्ति गर्दा एकलौटी गर्नुभयो भयो भन्ने देखियो । यस्तो देखिएपछि यो त ओलीमा कस्तो पेलेर जाने प्रवृत्ति रहेछ भन्ने कुरा कार्यकर्ता र जनतामा परिहाल्यो । यस्तो भएपछि हामीले प्रधानमन्त्रीलाई भन्यौँ तपाईंले ‘मिस’ गर्नुभयो । तपाईंका बाध्यता वा अप्ठ्यारा थिएनन् होलान त्यो आफ्नो ठाउँमा छ तर तपाईंको कामले म्यासेज राम्रो गएन भन्यौँ । तपाईंका दुवै पद सुरक्षित भएर नेतृत्व गर्दै हुनुहुन्छ भने व्यवहारबाटै म्यासेज दिन यसलाई करेक्सन गरेर स्थायी समितिको स्प्रिटलाई हुबहु लागू गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौँ ।
स्थायी समितिका निर्णय कार्यान्वयनका सवालमा भएका कमजोरी करेक्सन गर्न ओली तयार हुनुहोला त, भेटमा के सङ्केत बुझ्नुभयो ?
उहाँले फेरि तपाईंहरूलाई बोलाएर भेट्छु भन्नुभएको छ । त्यसैले उहाँले पोजेटिभ नै लिएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो । किनभने अहिले धेरै अप्ठ्यारोमा त प्रधानमन्त्री नै पर्नुभएको छ ।
स्थायी समितिका निर्णय पनि नमान्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्ता शब्द पनि हटाउने यी र यस्ता गतिविधिले त उहाँ करेक्सन हुने भन्दा पनि विग्रह ल्याउनलाई नै जोडबल गरेको देखियो नि होइन ?
यस्ता गतिविधि एकअर्काको रिसले हुँदै गएका छन् । एकले अर्कोलाई हटाउने खेलहरू खेल्दै र विभिन्न समीकरण बन्दै जाँदा एकले अर्कोलाई नै सिध्याउने प्रक्रियामा गएकाले यो अवस्था आइरहेको छ । एकले अर्कोलाई कमजोर कसरी पार्ने त ? केपी ओलीले प्रचण्डलाई कसरी कमजोर पार्ने र प्रचण्डले ओलीलाई कसरी कमजोर पार्ने ? केके स्टेप चाल्दा कमजोर बनाउन सकिन्छ भनेर त्यस्ता स्टेप चाल्ने दुवै पक्षबाट भइरहेको छ । यसरी चालिएका दुवै स्टेपहरू गलत हुन् ।
अहिले त संविधानको कार्यान्वयन र पालना गर्नुपर्ने दायित्व प्रधानमन्त्रीमा बढी छ । उहाँ पार्टी अध्यक्ष मात्रै होइन । अध्यक्ष मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री समेत भएकाले परिवर्तनका एजेन्डाहरूलाई यताउति गर्ने काम गर्नै हुँदैन । हामीले पनि पनि पार्टी फुटबाट बचाउन अरू कारणले खोजेको होइन । यो पार्टी मजबुत होला कि ? सानो होला कि ? ठूलो होला या चुनाव जित्ला हार्ला भन्ने हाम्रो चिन्ता होइन । चिन्ता त्यो हो यो पार्टी फुट्यो भने परिवर्तनका एजेन्डा समाप्त हुन्छन् । जनता, कार्यकर्ता निरास हुन्छन् । त्यसको फाइदा पश्चगामीले उठाउँछन् । २००७ सालदेखि परिवर्तनको पक्षमा रहेका जनताले जुन त्याग बलिदान गरे र आज परिवर्तन सम्भव भयो त्यो गुम्छ भनेर पार्टी फुट्न हुँदैन भनेर हामी लागेका हौँ, अरू कुनै कारणले होइन ।
यो पार्टी फट्यो भने परिवर्तनका एजेन्डा सकिन्छन्, जनता र राष्ट्रले दुःख पाउँछन् भन्ने देखेर नै हामी जोगाउन लागि परेका हौँ ।
सत्ताधारी नेकपा नेता हरिबोल गजुरेलसँग रातोपाटी अनलाइनले गरेको कुराकानीको छोटो अंश ।







