देशभर तिहारको रौनक छाइसकेको छ । तर तिहारको मुखैमा घरपरिवार छाडेर काम खोज्दै भारत जानेहरुको संख्या बढ्दो छ ।

सीमा प्रहरी चौकी डोके बजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाका अनुसार दसैंपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढी नेपाली भारत पसेका छन्

तिहारको मुखैमा भारत जान थालेका अधिकांशले नेपालमा रोजगारी नभएको भन्दै सरकारको आलोचना गरे । ‘युवाहरूलाई यहीँ राख्छौं भन्थे । अहिले हाम्रो पीडा कसैले सुनेको छैन,’ धनगढी मनेहराका देव रानाले आक्रोश व्यक्त गरे ।

उनी पहिलो पटक आफन्तसँगै भारत पस्दै छन् । ‘सायद अब सधैं जानुपर्छ होला,’ उनी भन्छन्, ‘यहाँ न त भनेको जस्तो काम पाइन्छ, न सरकारले हेर्छ ।’

गाउँमा सबैतिर तिहारको रौनक सुरु हुँदा मन खिन्न पारेर भारत जानुपरेको बाध्यता उनले सुनाए । ‘घरमा अब के खाने, के लाउने हुन थालेको छ । म जेठो छोरा हुँ,’ उनले भने, ‘अरूले तिहार मनाउन पाउन् भनेर म नमनाई काममा हिँडेको हुँ ।’

पछिल्लो केही दिनयता कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक एक हजार बढी नेपाली भारत पलायन भइरहेका छन् । उनीहरू त्यहाँ सस्तोमा श्रम बेच्न बाध्य छन् ।

त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै भदौ १२ यता ६६ हजार नेपाली भारत पसेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार