
सत्ताधारी नेकपामा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको आरोप प्रत्यारोपपछि करिव ४० महिना पुरानो एकताले पूर्ण स्वरुप नपाउँदै सो पार्टी विभाजनको संघारमा उभिन पुगेको छ।
कार्तिक २५ गते ओलीले प्रचण्डलाई द्वैध चरित्र र अविश्वसनीय भएको आरोपसहितको पत्र र त्यसको केही दिनपछि शुक्रबार प्रचण्डले सचिवालय बैठकमा प्रस्तावका रुपमा पेश गरेको जवाफी आक्रमण र त्यसलगत्तै पे्रेषित अर्को निजी पत्रले एकतामा ठाडो चिरा परेको स्पष्ट भएको छ।
पार्टी भित्र कम्युनिष्ट आचरण र मुल्य मान्यतामा ह्रास आएको, नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निम्ति जे पनि गर्न उद्दत हुने व्यक्तिवादी तथा अराजक प्रवृति झाँगिएको र क्रान्तिकारी तथा लोकतन्त्रवादी प्रक्रिया विलोप हुने क्रममा रहेको आरोप प्रचण्डले आफ्नो प्रस्तावमा लगाएका छन्।
प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गर्ने गरेको र आफ्नो खुमलटार निवासलाई गुटको मुख्यालय बनाएको भनी ओलीले लगाएको आरोपको सिधा जवाफ नदिए पनि प्रचण्डले ओली एकाधिकारवादी, व्यक्तिवादी तथा गुटवादी चरित्रबाट ग्रसित रहेको प्रत्यारोप गरेका छन्।
ओलीका चिल्ला, गुलिया कुरालाई विषको घडाको मुखमा अमृत राखी झुक्याएको जस्तै लाग्न थालेको पनि प्रचण्डले दाबी गरेका छन्।







