
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधामन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रहरु भैंसेपाटी पुग्न थालेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले गौतमका लागि मन्त्री बन्ने ढोका खुलेपछि भैंसेपाटीमा प्रस्तावहरु पुग्न थालेका हुन् ।ओलीविरोधी मोर्चामा गौतम सहभागी भएपछि उनलाई तान्ने प्रयास चलिरहेको छ ।
गौतमलाई भेट्न बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भैंसेपाटी पुगेका थिए । उनले गौतमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।आज विहान महासचिव विष्णु पौडेल गौतम निवास पसेका थिए । उनी यसपटक समय लिएर गौतमलाई भेट्न पुगेका थिए ।
पौडेलले गौतमका लागि अर्थ मन्त्रालय त्याग्ने सम्मको प्रस्ताव राखेका थिए । यसबाहेक रोजेको मन्त्रालयसहितको उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, गौतमले व्यक्तिले बनाउने भन्दा पार्टी पद्धति र विधिको निर्णयमा विश्वास गर्ने जवाफ दिएका थिए ।
विश्वस्त स्रोतका अनुसार गौतमले व्यक्तिको तजबिजमा पार्टी चल्न नहुने पक्षमा आफू रहेको जवाफ दिएका थिए । पार्टी सामूहिक कदम र निर्णयबाट चल्नुपर्नेमा उनको जोड थियो । पार्टीको निर्णय अनुसार आफू चल्ने भन्दै गौतमले यसपटक कडा जवाफ दिएको बुझिएको छ ।







