सत्ताधारी नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजलाई लिएर पार्टीभित्र ध्रुवीकरण बढ्दै जाँदा माधव नेपाल समूहले पनि प्रस्तावको अपनत्व लिएको छ ।

माधव नेपाल समूहले प्रचण्डले पेश गरेको राजनीतिक धारणा–प्रस्तावलाई साझा निष्कर्ष र पार्टीभित्र देखा परेका कार्यशैलीगत र प्रवृत्तिगत समस्याको रूपमा चित्रित गरेको हो ।

पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसालले सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज सचिवालयका पाँचै जना (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ) नेताको सामूहिक निष्कर्ष भएको बताए ।

“डकुमेन्ट सबैको साझा धारणा हो । निष्कर्ष साझा भएपछि दस्तावेज पनि साझा नै हुन्छ,” उनले भने ।

पार्टीभित्र देखा परेका समस्याहरू समाधानका लागि प्रस्तावको रूपमा विकास भएको दस्तावेज भएकाले छलफल आवश्यक रहेको भुसालको निष्कर्ष छ । पार्टी विधि–पद्धतिअनुरूप चलाउने, पार्टीलाई संस्थागत ढङ्गले चलायमान बनाउने र पार्टी एकताको रक्षा र विकास गर्ने चिन्तनका साथ दस्तावेज आएकाले अहिलेको समस्याको समाधान पनि त्यही प्रस्ताव भएको उनको धारणा छ ।

नेपाल समूहका अर्का एक नेता प्रधानमन्त्रीले केपी शर्मा ओलीले कम्तीमा एउटा पद त्याग गर्नुपर्ने बताउँछन् । प्रधानमन्त्री अथवा पार्टी अध्यक्षमध्ये एउटा पद त्याग्दामात्रै अहिलेको समस्याले निकास पाउने उनको बुझाइ छ ।”

समस्याका सूत्राधार ओली नै भएकाले समाधान पनि उनैले दिनुपर्ने नेपालनिकट सदस्यहरूको बुझाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार